Bagmati Samachar Logo

कर्णालीलाई पराजित गर्दै जनकपुर फाइनलमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा बिहीबार कर्णाली याक्सलाई पराजित गर्दै जनकपुर बोल्ट्स फाइनलमा पुगेको छ ।

११९ रनको लक्ष्य पछ्याएको जनकपुरले एक ओभर बाँकी रहँदा दुई विकेटले जित हात पारेको हो । जनकपुरको जितमा जेम्स निशम नायक बने । उनले १७ बलमा ४५ रन बनाएपछि जनकपुर जित नजिक पुगेको थियो । शेर मल्लले जनकपुरका लागि विजयी रन हाने ।

कर्णालीका लागि विपिन शर्माले १६औँ ओभरमा निशम र मोहम्मद मोहसिनको विकेट लिएर खेलमा रोमाञ्चकता ल्याएका थिए । त्यसपछि लगत्तै १७औँ ओभरको पहिलो बलमा नन्दन यादवको बलमा विकेटकिपर चाडविक वाल्टनले मयन यादवको क्याच छाडेपछि खेलमा जनकपुर हाबि बनिरहेको थियो ।

यसअघि सुरुमै विकेट गुमाएको कर्णालीले लगातार अन्तरालमा विकेट गुमाएपछि फाइटिङ स्कोर बनाउन सकेन । अन्तिम ओभरमा कर्णालीका लागि युनिस ठकुरीले जेम्स निशमको बलिङमा ११ रन जोडेका थिए । कर्णालीका लागि गुल्सन झाले सर्वाधिक २५ रन बनाए भने देव खनालले २४ रनको योगदान दिए । अन्य ब्याटरबाट राम्रो रन बन्न सकेन ।

पावर प्ले सकिँदा उसले दुई महत्त्वपूर्ण विकेट गुमाएको छ । इलिमिनेटरमा अर्धशतक बनाएका भारतीय खेलाडी जयकिसन कोसवालालाई जनकपुरका ललित राजवंशीले हर्ष ठाकरको हातबाट क्याच गराए । उनी एक रनमा आउट भएका थिए । त्यसपछि आक्रामक ब्याटिङ गरिरहेका देव खनाल पनि जेम्स निशमको बलमा आकाश त्रिपाठीबाट समातिए । उनले २० बलमा २४ रन बनाए ।

जनकपुरका लागि ललित राजवंशी, जेम्स निशम र मोहम्मद मोहसिनले दुईरदुई विकेट लिए । अब जनकपुरले शनिबार सुदूरपश्चिम रोयल्ससँग फाइनल खेल्नेछ भने कर्णाली तेस्रो बन्दै प्रतियोगिताबाट बिदा भएको छ ।