Bagmati Samachar Logo

जनकपुरलाई सजिलै हराएर सुदूरपश्चिम एनपीएलको फाइनलमा

काठमाडौं । बुधबार नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्टसलाई हराएको छ । जनकपुरलाई हराएपछि सुदुरपश्चिम उपाधिनजिक पुगेको छ । पहिलो संस्करणको एनपीएलमा जनकपुर बोल्ट्सलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम फाइनलमा प्रवेश गरेको हो ।

लिग चरणमा पनि सुदूरपश्चिमले जनकपुरलाई पराजित गरेको थियो ।

टस जितेर जनकपुरले ९ विकेटको क्षतिमा १ सय ३९ रन बनाएको थियो । १ सय ४० रनको लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

सुदूरपश्चिमका लागि विनोद भण्डारीले अविजित ५८ रन जोडे । उनले ५५ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । यस्तै, सैफी अली जैबले ३२ रनको योगदान दिएका थिए । ब्रैंडन मैकमुलेन २५ रन बनाउँदा कप्तान दीपेन्द्रसिंह ऐरी २० रनमा अविजित रहे ।

जनकपुरका लागि ललित राजवंशी र किशोर महतोले एक एक विकेट लिए ।

यसअघि जेम्स निशमले जनकपुरका लागि सर्वाधिक ४५ बनाएका थिए । उता सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिएका थिए ।

अब सुदूरपश्चिमले बिहीबार हुने जनकपुर र कर्णाली याक्सबीचको क्वालिफायर दुईको विजेतासँग कीर्तिपुर मैदानमा शनिबार फाइनल खेल्नेछ ।