Bagmati Samachar Logo

एमालेले नेतृत्व विरुद्धको कुप्रचारको जमेर प्रतिवाद गर्ने

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) केन्द्रीय संगठन विभागद्वारा आयोजित कार्यशालाले नेतृत्वविरुद्धको कुप्रचारको जमेर प्रतिवाद गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक दुईदिने राष्ट्रिय कार्यशालामा नेतृत्व विरुद्धको कुप्रचारको प्रतिवाद गर्ने सहित अन्य संकल्प पनि गरेको छ ।

यस्ता छन् कार्यशालाको घोषणा

१. यो राष्ट्रिय कार्यशाला निर्णायक राष्ट्रिय शक्ति निर्माणको लागि माघदेखि चैत्रसम्म तीनमहिने वड़ा केन्द्रित अभियान सञ्चालन गर्ने संकल्प गर्दछ ।

२. यो राष्ट्रिय कार्यशाला आधारभूत तहसम्म कमिटी निर्माण गर्ने र सदस्यता विस्तार सँगसँगै जनतासँग जनसंगठन अभियान सञ्चालन गर्ने संकल्प गर्दछ ।

३. यो कार्यशाला २०८२ को पार्टी सदस्यता नवीकरण २०८१ को फाल्गुण चैत्र महिनाभित्रै विधिसम्मत र प्रकृयासम्मत ढंगले सम्पन्न गर्ने संकल्प गर्दछ ।

४. यो कार्यशाला २०८१ भित्रै सम्पूर्ण पार्टी सदस्यहरूलाई अनलाइनमा ल्याउने संकल्प गर्दछ ।

५. यो कार्यशाला २०८१ चैत्रसम्ममा एक राष्ट्रिय युवा महोत्सवको आयोजना गर्न पार्टी केन्द्रसँग आग्रह गर्दछ ।

६. यो कार्यशाला पार्टी र नेतृत्वका विरुद्धका षड्यन्त्र र कुप्रचारको जमेर प्रतिवाद गर्दै पार्टी नीति, नेतृत्व र राजनीतिक कार्यदिशालाई जनताबीच स्थापीत गर्ने संकल्प गर्दछ ।