Bagmati Samachar Logo

कप्तान पौडेल चम्किदा चितवनलाई लुम्बिनीको १६८ रनको लक्ष्य

काठमाडौं । कप्तान रोहितकुमार पौडेल र साद बिन जफरको अर्धशतकप्रेरित लुम्बिनी लायन्सले चितवन राइनोजलाई १६८ रनको लक्ष्य दिएको छ ।
एनपीएलको जारी खेलमा टस हारेर ब्याटिङमा आएको लुम्बिनीले निर्धारित २० ओभर ६ विकेट गुमाएर १६७ रनको योगफल खडा गरेको हो ।

लुम्बिनीका कप्तान रोहितले ८० रन बनाए । उनले ५७ बलमा ६ चौका र पाँच छक्का प्रहार गरे । जारी प्रतियोगितामा रोहितको यो दोस्रो अर्धशतक हो । यसअघि रोहितले पोखरा एभेन्जर्सविरुद्ध पहिलो अर्धशतक प्रहार गरेका थिए ।

साद बिन जफरले ५२ रन थपे । उनले ३५ बलमा चार चौका र एक छक्का प्रहार गरे । ४९–४ को स्थितीबाट यी दुईले पाँचौ विकेटका निम्ति ७१ बलमा ११४ शतकीय रनको साझेदारी गर्दै चितवनको इनिङ सम्हालेका थिए ।

त्यसअघि लुम्बिनीले ओपनर अर्जुन साउदलाई १५ र टम मुरेसलाई १० रनको व्यक्तिगत स्कोरमा गुमाएको थियो । यस्तै, अर्का ओपनर आशुतोष घिरैयाले एक रन थप्दा उन्मुक्त चन्द ‘डक’ भए ।

चितवनका रिजन ढकालले तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले २९ रन खर्चिए । रिजनले लुम्बिनीका ओपनर आशुतोष घिरैया, उन्मुक्त चन्द र रोहित पौडेलको विकेट लिए ।

कप्तान कुशल मल्ल र रञ्जित कुमारले समान एक विकेट लिए । कुशलले टम मुरेस र रञ्जितले अर्जुन साउदको विकट लिएका थिए ।

लुम्बिनी प्रतियोगितामा जितविहीन एकमात्र टोली हो । लुम्बिनीले यसअघिका चारमध्ये चारै खेलमा हारको सामना गरेको थियो । प्रतियोगिताको आफ्नो पहिलो खेलमा लुम्बिनीले विराटनगर किंग्सविरुद्ध दुई विकेटको हार बेहोरेको थियो । दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग १० विकेटको फराकिलो हार बेहोरेको लुम्बिनीले तेस्रो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध ४५ रनको र चौथो खेलमा जनकपुर बोल्ट्सविरुद्ध एक रनको हार बेहोरेको थियो ।