कर्णाली याक्सका धवनको ७२ रनको योगदानसहित काठमाडौंलाई दियो १५० रनको लक्ष्य

काठमाडौं । भारतीय चर्चित खेलाडी शिखर धवनको ७२ रनको योगदानले कर्णाली याक्सले नेपाल प्रिमियर लिगको छैटौं खेलमा काठमाडौं गुर्खाजलाई एक सय ५० रनको लक्ष्य दिएको छ ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णाली याक्सले पूरा २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ४९ रन बनायो । कर्णालीको लागि भारतीय चर्चित खेलाडी शिखर धवनले ५२ बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ७२ रन बनाए । उनले पूरा २० ओभर नै खेलेका थिए ।
पहिलो खेलमा जनकपुरविरुद्ध धवनले १४ रन बनाएका थिए ।
कर्णाली याक्सले पावर प्लेमा सुस्त सुरुवात गर्दै दुई विकेट गुमाएर ३९ बनायो । धवनले मात्रै ६ बल खेलेर चार रन बनाएका थिए । धवनसँगै ओपनिङमा आएका देव ३ बल खेलेर डक आउट भए । तेस्रो नम्बर क्रिजमा आएका चाडविक वाल्टनले १५ बलमा पाँच चौकासहित २१ रन बनाएका हुन् ।
बाबर हायत पनि १९ बलमा एक चौकासहित १० रनमा पेभिलियन पर्किएपछि ८.१ ओभरमा कर्णालीले तीन विकेट गुमाउँदा मात्र ४९ रन बनाएको थियो । पाँचै नम्बर क्रिजमा आएका गुल्शन झा पनि १९ बलमा एक चौकासहित १२ रन बनाएर स्टम्पीङ भए ।
१४.३ ओभरमा पाँचौ विकेटको रुपमा चार रन जोेडेका अर्जुन घर्ती आउट हुँदा कर्णालीले जम्मा ८४ रन जोड्यो । ओमानका जिसन मक्सूदले ११ बलमा १४ रन बनाए । काठमाडौं गुर्खाजको लागि नामिबियाका कप्तानसमेत रहेका गेहार्ड इरास्मसले दुई विकेट लिए ।
कप्तान करण केसी, नाथन सोव्टर, दीपेश कँडेलले समान एक विकेट लिएका थिए । यसअघि कर्णाली जनकपुर बोल्ट्ससँग आठ विकेट र काठमाडौं चितवन राइनोजसँग पाँच विकेटले पराजित भएका थिए । दुबै टोली पहिलो जितको खोजीमा छन् ।
प्रतिक्रिया दिनुहोस्: