Bagmati Samachar Logo

माओवादीले आधार इलाकामा वडामा हार्दा कांग्रेस एमालेले जितेका ठाउँमा जितेको छ

काठमाडौँ । स्थानीय तह उपनिर्वाचनअन्तर्गत रिक्त ४१ स्थानमा भएको चुनावमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले एक अध्यक्ष, एक उपाध्यक्ष र एक उपप्रमुखसहित ९ स्थान जित्न सफल भएको छ ।

माओवादीले रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष र पुथा उत्तरगंगा–२ मात्र जोगाएपनि २०७९ को निर्वाचनमा जितेका ५ वडा गुमाएको छ ।

तर यसअघि जितेको महोत्तरीको रामगोपालपुर नगरपालिका– २, मकवानपुरको हेटौंडा उपमहानगरपालिका– १२, जाजरकोटको कुशे गाउँपालिका– ७, कालिकोटको तिलागुफा नगरपालिका– ४ र दार्चुलाको दुहुँ गाउँपालिका– ५ को वडाध्यक्ष पद गुमाएको छ ।

उपनिर्वाचनमा मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष, जाजरकोटको नलगाड नगरपालिका उपाध्यक्ष पद जित्न सफल भएको छ । यी दुवै पदका यसअघि कांग्रेसले जितेको थियो । यस्तै नुवाकोटको ककनी गाउँपालिका–२, उदयपुरको त्रियुगा नगरपालिका–१२, धनुषाको धनुषाधाम नगरपालिका–१, गोरखा नगरपालिका–५ र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को वडाध्यक्ष पद जितेर गुमेको शक्ति फर्काएको छ ।

उपमहासचिव बस्नेतको प्रभाव क्षेत्र रहेको भनिएको जाजरकोटको कुशे गाउँपालिकाको वडामा माओवादी केन्द्रलाई पराजित गरेर कांग्रेसले जित निकालेको छ ।

कुशे गाउँपालिका( ६ मा २०७९ साल स्थानीय चुनावमा माओवादीका मनबहादुर घर्ती विजयी भएका थिए । तर, अहिले उपमहासचिव बस्नेतले आफ्नो गृहजिल्लाको वडामा पहिलाको जित जोगाउन सकेनन् । उपचुनावमा कांग्रेसका खम्बबहादुर सिंह विजयी भएका छन् । माओवादी उम्मेदवार गोरखबहादुर नेपाली ३ सय ३२ मतसहित दोस्रो भएका छन् । माओवादीबाट कांग्रेसले यो वडा खोसेको छ । आफ्नै गृहजिल्ला रहेको वडामा नै बस्नेतले हारेका छन् ।

बस्नेतको गृहजिल्ला जाजरकोट मात्र होइन, शर्माको गृहजिल्ला रुकुम पश्चिममा पनि त्यही अवस्था देखियो । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ५ मा माओवादीले दोस्रोपटक पनि पराजय भोगेको छ । २०७९ सालमा भएको स्थानीय तहको चुनावमा कांग्रेसका अलबहादुर खत्री विजयी भएका थिए । त्यो समयमा पनि एमाले र कांग्रेस मिलेर गठबन्धन गरेका थिए, जसका कारण ११ वटा वडामा ९ वडा माओवादीले र १(१ कांग्रेस(एमालेले जितेका थिए ।

उपचुनावमा पनि मोतिराम खत्री ५ सय ९० मतका साथ विजयी भएका छन् । यो वडामा कांग्रेस एमाले र बाबुराम नेतृत्वको नेसपाबीच गठबन्धन भएको थियो । माओवादीले केन्द्रका जसिराम बस्नेतले ५३७ मत ल्याएका छन् । माओवादीविरुद्ध सबै मिल्दा झिनो मतले पराजित भएको स्थानीय माओवादी धनवीर वली बताउँछन् । उनले भने, ‘अघिल्लोपटक पनि हामीले हारेका थियौँ । यो पटक पनि हार्‍यौँ । तर, हाम्राविरुद्ध सबै मिलेर महागठबन्धन गर्नुभएको थियो । जित्छौँ भन्नेमा थियो । अलिकति मतले पराजित भयौँ ।’

माओवादीको अर्को आधार इलाका अर्थात् उपमहासचिव वर्षमान पुनको गृहजिल्ला रोल्पामा पनि जित निकाल्न सकेन । त्यति मात्र होइन, माओवादीको मत प्रतिशत पनि घटेको छ । रोल्पाको रुन्टिगढी गाउँपालिकामा कांग्रेसका भूपमणि पुनमगर विजयी भएका छन् । भूपमणि ६ सय ४३ मत ल्याएर विजयी भएका हुन् । एमाले प्रमुख प्रतिद्वन्द्वी बनेको छ । एमालेका बेमग पुनले ५ सय ३५ मत ल्याए । तर, माओवादीले भने ७० मत ल्याएको छ ।

कालीकोटमा माओवादीलाई पराजित गरी नेमकिपाले जित निकालेको छ । कालीकोटको तिलगुफा नगरपालिका( ४ को वडाध्यक्ष पनि माओवादीलाई पराजित गरी नेमकिपाले जित निकालेको हो । २०७९ सालको स्थानीय तहको चुनावमा माओवादी केन्द्रका परबहादुर शाहीले २ सय ३४ मतसहित विजयी भएका थिए । अहिले नेमकिपाका खडकराज शाही विजयी भएका छन् । माओवादीका नैशोभा शाही दोस्रो बनेकी छिन् ।

माओवादीले आफ्नो आधार इलाका भन्दै आएको र केन्द्रीय नेतृत्वका दाबेदार रहेका पुन, शर्मा र बस्नेतका गृहजिल्लामा माओवादी ओरालो लागेको छ । माओवादी बलियो हुँदा अन्य दलहरू मिलेर महागठबन्धन गरेकाले हार्नुपरेको बताए पनि रोल्पामा एक्ला एक्लै लड्दा पनि माओवादीले सयम मत ल्याउन सकेन । त्यसैगरी, २०७९ सालमा माओवादी केन्द्रले विजय हासिल गरेको तर उपचुनावमा हेटौँडा उपमहानगरपालिका वडा नं। १२ पराजित भएको छ । माओवादीले जितेको वडा अहिले कांग्रेसले जितेको छ । कांग्रेसका अर्जुनप्रसाद तिवारी २ हजार ६३ मतसहित विजयी भएका छन् । माओवादी केन्द्रका रविकुमार प्रधान १ हजार ५ सय ६० मतसहित दोस्रो बनेका छन् ।

यसअघि माओवादी केन्द्रका ललितकुमार घलान १ हजार ३ सय ७१ मतसहित विजयी भएका थिए । उनी मकवानपुर जिल्ला समन्वय समिति प्रमुख भएपछि उपचुनाव भएको हो । त्यो समयमा कांग्रेसका तिवारी १ हजार ३ सय ४० मतसहित दोस्रो भएका थिए । दार्चुलाको दुहुँ गाउँपालिका( ५ पनि माओवादी केन्द्रले गुमाएको छ । २०७९ सालमा माओवादीबाट मनोरथ भट्ट ५ सय ८२ मतसहित विजयी भएका थिए । उपचुनावमा कांग्रेस उम्मेदवार धनसिंह कुँवर ३ सय ७६ मतसहित विजयी भएका छन् । माओवादीले यो वडा गुमाएको छ ।

अघिल्लो निर्वाचनको तुलनामा केही स्थानमा मत घटाएपनि अधिकांश स्थानमा माओवादीले मत संख्या बढाएको देखिन्छ । मतगणनाको अन्तिम परिणाम आउन बाँकी चार स्थानमध्ये कीर्तिपुर नगरपालिका र दोलखाको गौरीशंकर गाउँपालिका बाहेक हुम्लाको सर्केगाड गाउँपालिका र उदयपुरको वेलका नगरपालिका–९ मा माओवादीको अग्रता छ । काठमाडौँको कीर्तिपुर नगरपालिकामा माओवादी दोस्रो स्थानमा रहेको छ ।

मंसिर १६ गते सम्पन्न निर्वाचनमा विभिन्न ४१ पदमध्ये काठमाडौँको कीर्तिपुर नगरपालिका प्रमुख, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष र उदयपुर नगरपालिका–९ को अन्तिम मतपरिणाम आउन बाँकी छ ।