Bagmati Samachar Logo

प्रचण्ड, रवि, दुर्गा र कुलमानप्रति ओलीको कटाक्ष

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनैपनि किसिमको भ्रष्टाचार र ठगी सह्य नहुने चेतावनी दिएका छन् ।

आफू नेतृत्वको सरकार सरकारी ढिलासुस्ती, अकर्मण्यता र उल्झनलाई समाप्त पारेर अघि बढिरहेको भन्दै समाजमा अराजकता र भ्रम फैलाउनेहरूलाई नछोड्ने उनले चेतावनी समेत दिए ।

ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ओलीले ‘चाइना कार्ड’ खेलेको आरोपको खण्डन गर्दै काउन्टर जवाफ दिए । ‘हाम्रो छिमेक सम्बन्ध सन्तुलित छ, सन्तुतिल राख्छौँ । भौगोलिक अखण्डताको रक्षा गर्दै सुदृढ सम्बन्ध बनाउछौँ । कता जानुपर्ने, कता जानु नपर्ने भनेर कता लेखेको छ ? संविधानमा लेखेको छ ? धर्मग्रन्थमा लेखेको छ ? बडापत्रमा लेखेको छ ?’

आफ्नो चीन भ्रमण सफल हुने दाबी गर्दै ओलीले घुमेर आउँछु भनेर जान नलागेको प्रस्टीकरण दिए । प्रचण्ड र आफैँले पुलपुल्याएका विवादास्पद व्यवसायी प्रसाईंको पनि नामै नलिएर ओलीले अराजक, कागजको नक्कली चिर्कटो देखाएर भ्रम फैलाउने व्यक्तिको रूपमा चित्रित गरेका छन् । उनले भने, ‘नक्कली चिर्कटो देखाएर भ्रम फैलाउने, निराशा फैलाउने, समाजमा अराजकता फैलाउने लोकप्रियतावादको नाममा ढाँट्ने, बैंकको ऋण तिर्नु पर्दैन भनेर कराएर हिँड्ने, बैंकको ऋण लिएपछि तिर्नु पर्दैन ? देशको अर्थतन्त्र र मौद्रिक स्थितिलाई छ्यालब्याल, अस्तव्यस्त र ध्वस्त बनाउने ?’

हामी सुन्छौ कहिले बैंकको ऋण तिर्नुपदैन भनेर कराएर हिँड्छ । बैंकको ऋण लिएपछि तिर्नु पर्दैन ?’, दुर्गा प्रसाईंप्रति लक्षित गर्दै ओलीले भने, ‘तिर्नुपर्दैन भनेर कराएर हिँड्छ किनभने देशको अर्थतन्त्र र मौद्रिक स्थितिलाई छ्यालव्याल, अस्तव्यस्त र ध्वस्त बनाउन ।’

उनले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको पनि कटाक्ष गरे ।

‘त्यसपछि अर्को अभियान चल्छ–उद्यमी, व्यवसायी र मारवाडीहरूलाई खेद भनेर अभियान चल्छ’, उनले भने, ‘केही उद्योग चलिरहेका छन् भने उद्योगको लाइन काट्ने ? अहिले सरकारले भनिरहेको छ–विद्युत् महसुल आयोगले जे भनेको छ टिओडीअनुसार बक्यौता उठाऊ ।’

उनले त्यसरी बक्यौता नउठाउने अनि विद्युत् लाइन काटेर उद्योग बन्द गर्ने कुरा स्वीकार्य नहुने बताए ।

‘उद्योगको लाइन काटेर मजदुरहरु बेरोजगार बनाउने षड्यन्त्र भइरहेका छन्’, उनले भने, ‘समुदायमा विद्वेष खलबल्याउने काम भइरहेको छ ।’

उनले पोल्टिक्स नगर्ने, नीति अघि सार्न नसक्ने तर गाली गर्ने मुख छाड्ने अनि अपशब्द बोल्ने कुरा सरकारलाई सह्य नहुने बताए । उनले रास्वपा र सभापति रवि लामिछानेलाई संकेत गर्दै भने, ‘आफै सहकारी ठगी गर्ने अरुलाई मुख छाड्ने ? गाली गर्ने ? कुनैपनि प्रकारको भ्रष्टाचार र ठगी सह्य हुनेछैन । मानवतस्करी सह्य हुनेछैन । अपराध गर्नेलाई सरकारले अनुहार हेर्दैन कारबाही गर्छ ।’

ओलीले कम्बोडियामा आफ्नो लगानी रहेको हल्ला फैलाएको तर्फ इङ्गित गर्दै हल्लाको भरमा चरित्रहत्या गर्न खोजिएको बताए । उनले भने, ‘आरोपका लागि आरोप लगाउने, तथ्य प्रमाणका आधारमा बहस गर्दैनन् । कम्बोडियामा ३२ हजार करोड (२० हजार करोड डलर), स्वीस बैंकमा यति हजार ? तपाईंहरू त हेर्न जान सक्नु हुन्न । यहाँबाट थाइल्यान्ड पुग्न ४ घण्टा लाग्छ । त्यहाँबाट कम्बोडिया ४५–५५ मिनेटमा पुगिन्छ । भन्दिए भो, त्यो मात्रै किन भन्ने अमेरिकाका बैंकको आधा सम्पत्ति मेरै हो ल ।’

ओलीले यो गठबन्धन सरकार आगामी चुनावसम्मै कायम रहने दाबी गरेका छन् । अराजकता मच्चाउने र संविधान मास्न खोज्ने प्रवृत्ति बढेपछि कांग्रेस र एमाले मिल्नुपरेको उनले बताए । कांग्रेस–एमालेको समीकरण र सरकारलाई कसैले हल्लाउन नसक्ने उनले बताए । ओलीले स्वार्थरहित तरिकाले बनेकाले यो सरकारले कमिसनखोरी र भ्रष्टाचार गरेर पैसा कमाउने र आफ्ना मान्छे भर्ती गरेर अकूत सम्पत्ति कुम्ल्याउन नबनेको टिप्पणी गरे ।

उनले कार्यकर्तालाई आश्वस्त पार्दै भने, ‘एमालेलाई कसैले हल्लाउन सक्दैन । अहिलेको समीकरण र सरकारलाई पनि कसैले हल्लाउन सक्दैन । नाङ्लो ठटाएर हात्ती तर्साएझैँ गरौँला नसोचे हुन्छ । एमाले हात्तीहरूको बथान हो ।’