कांग्रेसले पहिले बीआरआईमा हस्ताक्षर गर्यो, अहिले गिजोल्न लाग्नुभयो : प्रदीप ज्ञवाली
काठमाडौं । सत्तारुढ नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सत्ता साझेदार नेपाली कांग्रेसप्रति लक्षित गर्दैै चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई)मा पहिले हस्ताक्षर गरेको र अहिले गिजोल्ने काम गरेको आरोप लगाएका छन्।
उपमहासचिव ज्ञवालीले भने, ‘उहाँहरुले नै हस्ताक्षर गर्नुभयो, पछि गिजोल्न लाग्नुभयो।’
सन् २०१७ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार हुँदा नेपाली कांग्रेसबाट परराष्ट्रमन्त्री रहेका प्रकाशशरण महतले बीआरआई सम्झौतामा हस्ताक्षर गरेका थिए।
ज्ञवालीले उक्त सम्झौतापछि ९ परियोजना नेपालले छानिसकेको भन्दै त्यसमा लगानीको ढाँचा भने अझैं टुंगिन बाँकी रहेको बताए। उनले भने, ‘बीआरआईमा ९ परियोजना छानेका छौँ, तर फन्डिङ मोडालिटीमा प्रवेश नै गरेका छैनौँ।’
बीआरआईबारे सत्तारुढ दुई दलबीच फरकमत रहेको स्वीकार गर्दै ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणअघि समझदारीमा पुग्ने समेत दाबी गरे।
प्रतिक्रिया दिनुहोस्: