Bagmati Samachar Logo

उपचुनावमा माओवादीले खाता खोल्यो, पुथाउत्तरगंगा २ वडाध्यक्षमा जगत घर्ती निर्विरोध

काठमाडौं । स्थानीय तहको उपनिर्वाचनमा रुकुम पूर्वबाट माओवादी केन्द्रले खाता खोलेको छ।

कांग्रेस–एमालेको तर्फबाट उम्मेदवारी दिएका जीवन रोकाले उम्मेदवारी फिर्ता लिएपछि पुथाउत्तरगङ्गा गाउँपालिका २ को वडाध्यक्षमा जगत घर्ती निर्विरोध भएका हुन् ।

वडाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका घर्तीलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बधाई दिएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘रुकुम (पूर्व) पुथाउत्तरगंगा गाउँपालिका वडा नं. २ को उप निर्वाचनमा वडा अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएकोमा हाम्रो पार्टीका उम्मेदवार क. जगत घर्ती (काजु)लाई हार्दिक बधाई तथा कार्यकालको शुभकामना व्यक्त गर्दछु।’

पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी दिएकी एकीकृत समाजवादीकी उम्मेदवार सुनिता बुढाले पनि उम्मेदवारी फिर्ता लिएकी छन् । गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार नरपुरा बुढा छिन् ।
अहिले एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको संयुक्त प्रचार अभियान चलाइरहेको नेकपा माओवादी केन्द्रका नेता पूर्णबहादुर घर्तीले जानकारी दिए ।

निर्विरोध निर्वाचित भएका घतीलाई निर्वाचन आयोगले आधिकारिक रुपमा निर्विरोध भएको घोषणा गर्न भने बाँकी रहेको छ ।