Bagmati Samachar Logo

पूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने मन्त्रिपरिषद्को निर्णय, आज सार्वजनिक बिदा

काठमाडौं । सरकारले पूर्वसभामुख दमननाथ ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले ढुंगानाको निधनमा गहिरो शोक र भावपूर्ण श्रद्धाञ्जली तथा परिवारमा समवेदना व्यक्त गर्दै आज राष्ट्रिय सम्मानका साथ उनको अन्त्येष्टि गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा दिने एवं स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा आधा झण्डा झुकाउने निर्णय पनि भएको छ ।
‘ुपूर्वसभामुख ढुङ्गानाको सम्मानमा आज सार्वजनिक बिदा दिने र स्वदेश तथा विदेशस्थित सबै कार्यालयमा आज दिनभर राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको छ,’ गुरुङले भने, ‘राष्ट्रिय सम्मान व्यवस्थापनको जिम्मेवारी गृह मन्त्रालयलाई दिइएको छ ।’

गुरुङले पूर्वसभामुख ढुङ्गानाले नेपालको संसदीय प्रणालीलाई व्यवस्थित बनाउन खेलेको भूमिकाको बैठकले कदर गरेको उल्लेख गर्दै उनको निष्ठा र आदर्शलाई आत्मसम्मान गर्नु नै उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताए ।

ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा आइतबार निधन भएको हो ।