Bagmati Samachar Logo

कर्णालीका आठ पदमा ४५ जना उम्मेदवार

काठमाडौं । यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा कर्णालीका आठवटा स्थानीय तहमा रिक्त रहेका आठ पदका लागि ४५ जनाको उम्मेदवारी दर्ता भएको छ ।

जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख, दैलेखको महाबु गाउँपालिका अध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष तथा दैलेखको दुल्लु नगरपालिका– १३ वडाअध्यक्ष, कालीकोटको तिलागुफा नगरपालिका– ४ वडाअध्यक्ष, जाजरकोटको कुसे गाउँपालिका– ७ वडाअध्यक्ष, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– ५ वडाअध्यक्ष र रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ मा वडाध्यक्ष पदमा उपचुनाव हुनेछ । यी पदका लागि राजनीतिक दलहरूले उम्मेदवारको मनोनयन दर्ता गराइसकेका छन् ।

जाजरकोटको नलगाड नगरपालिकाको उपमेयर पदमा छ जनाले मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उपमेयर पदका लागि नेपाली कांग्रेसबाट इन्द्रा चन्द सिंह, नेकपा एमालेबाट सुनिता बोहरा, नेकपा माओवादी केन्द्रबाट देवका लामिछाने, राप्रपा नेपालबाट सुनिता पुन रावल, नेपाल समाजवादीबाट पवित्रा जैसी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट पार्वती पुनको उम्मेदवारी परेको छ ।

यस्तै, दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा सात जनाले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीले उम्मेदवारी दर्ता गराएका हुन् । मुख्य निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेका अनुसार कांग्रेसबाट झलकबहादुर भण्डारी, एमालेबाट जंगबहादुर शाही, माओवादीबाट जंगबहादुर बराल, समाजवादीबाट जगत हमाल र रास्वपाबाट प्रकाशकुमार बुढा, राप्रपाबाट सुर्जे रावत, नेमकिपाबाट दुर्गबहादुर मगर रहेका छन् ।

यस्तै, हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि दुई स्वतन्त्रसहित सात जनाको उम्मेदवारी दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृत शम्भुप्रसाद बरालका अनुसार नेपाली कांग्रेसबाट सरिता बुढा, नेकपा एमालेबाट जाना शाही, नेकपा माओवादी केन्द्रबाट देवकी तिमिल्सेना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट संगीता बुढा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट बाँचा शाही, स्वतन्त्र उम्मेदवार नरेश शाही र रामसरा खड्काको उम्मेदवारी दर्ता भएको छ ।

यस्तै, कालीकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्षमा ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । वडाध्यक्षका लागि नेकपा एमालेबाट ऐनबहादुर शाही, नेपाल मजदुर किसान पार्टीबाट खड्कबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गगन बम, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोगनबहादुर शाही, माओवादी केन्द्रबाट नैसोभा शाही र नेपाली कांग्रेसबाट पैरबहादुर शाहीको उम्मेदवारी दर्ता भएको जिल्ला निर्वाचन कार्यालय कालीकोटका सूचना अधिकारी लक्ष्मणबहादुर शाहीले बताए ।

दैलेखको दुल्लु नगरपालिका– १३ को वडाध्यक्ष पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । निर्वाचन अधिकृत वीरेन्द्रबहादुर मल्लका अनुसार नेकपा एमालेबाट लालबहादुर शाही, नेपाली कांग्रेसबाट शेरबहादुर शाही, नेकपा माओवादी केन्द्रबाट ढकेन्द्रबहादुर शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रेशम शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रामबहादुर शाही र नेपाल मजदुर किसान पार्टीबाट पूर्णप्रसाद उपाध्यायको उम्मेदवारी दर्ता भएको छ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका– ५ को वडाध्यक्षमा एक स्वतन्त्रसहित चार जनाको उम्मेदवारी परेको छ, जसमा नेकपा माओवादीबाट जसिराम बस्नेत, नेपाली कांग्रेसबाट मोतिराम खत्री, नेकपा एमालेबाट हम्सराज पुरी, स्वतन्त्र उम्मेदवार वीरबहादुर बस्नेत रहेका छन् ।

यस्तै, डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका– ५ को वडाध्यक्षमा चार जनाको उम्मेदवारी दर्ता भएको छ । सहायक निर्वाचन अधिकृत हरिगोपाल ज्ञवालीका अनुसार नेकपा एमालेबाट नरबहादुर रोकाया, नेकपा ९एस० बाट ज्योती घर्ती, नेकपा माओवादीबाट नरबहादुर झाँक्री र नेपाली कांग्रेसबाट राजेन्द्रप्रसाद न्यौपाने उम्मेदवार रहेका छन् । जाजरकोटको कुशे गाउँपालिका–७ को वडाध्यक्षमा पनि चार जनाको उम्मेदवारी परेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार एमालेबाट डम्बर बहादुर घर्ती, कांग्रेसबाट खम्बबहादुर सिंह, माओवादीबाट गोरखबहादुर नेपाली र राप्रपाबाट लालबहादुर खत्रीको उम्मेदवारी परेको छ ।