Bagmati Samachar Logo

रविलाई बयानकालागि रुपन्देही लैजाने भएपछि सुरक्षा व्यवस्था कडा, पीडित र समर्थक दुवै पक्ष प्रदर्शनको तयारीमा

काठमाडाै‌। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज रुपन्देही लैजाने तयारी भएको छ । लामिछानेलाई बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयानका लागि रुपन्देही लैजान लागिएको हो ।

लामिछानेलाई रुपन्देही लैजाने तयारीसँगै रास्वपाले भैरहवामा प्रदर्शनको तयारी गरिरहेको छ । नेता कार्यकर्तालाई बिहान १० बजे भैरहवामा उपस्थित हुन सो पार्टीले निर्देशन दिएको छ ।

यता सहकारी पीडितहरूले पनि सरकारी वकिलको कार्यालय अगाडि विरोध प्रदर्शनको तयारी गरिरहेका छन् । दोहोरो प्रदर्शनको तयारी भएसँगै प्रहरीले विमानस्थलदेखि सरकारी वकिलको कार्यालय परिसरसम्मको सुरक्षा व्यवस्था कडा पारेको छ ।

गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल वरपर नेपाल र प्रहरी सशस्त्र प्रहरी परिचालन गरिएको छ । विमानस्थलमा मौसम नखुल्दा पोखराबाट जहाज उड्न सकेको छैन ।

बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।