Bagmati Samachar Logo

सरकारले लाइन जोड्ने निर्णय गर्दा प्राधिकरणका कर्मचारीहरू बक्यौता नबुझाउँदै लाइन नजोड्नेमा

काठमाडौँ । सरकार र नेपाल विद्युत् प्राधिकरणका कर्मचारीहरू आमुन्ने सामुन्ने भएका छन् । आइतबार बसेको मन्त्री परिषदले गरेको औद्योगिक ग्राहकले डेडिकेटेड र ट्रंकलाइन जोड्ने निर्णयको विरुद्धमा प्राधिकरणका कर्मचारी उभिएका छन् । विद्युतको बक्यौता महसुल नबुझाएसम्म लाइन जोड्ने सरकारको निर्णय कार्यान्वयन हुन नसक्ने अडानमा कर्मचारी देखिएका छन् ।

सोमबार नेपाल विद्युत् प्राधिकरण कर्मचारी कल्याण परिषद् र राष्ट्रिय कर्मचारी युनियनले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै जबरजस्ती लाइन जोडिए आम जनतालाई सुसूचित गर्दै सङ्घर्षका कार्यक्रम गर्ने जनाएका हुन् ।

आम उपभोक्ताले ६० दिनभित्र महसुल नबुझाए लाइन काट्ने व्यवस्था स्मरण गराउँदै औद्योगिक ग्राहकलाई छुट्टै व्यवहार गर्न नहुने बताएका छन् ।

सबैलाई समान व्यवहार गर्नुपर्नेमा सरकारले अर्बौँ बक्यौता नतिरेका उद्योगहरूको लाइन जोड्ने निर्णय गरेर ठुलालाई चैन, सानालाई ऐन उक्ति चरितार्थ गरेको कर्मचारीको भनाइ छ ।

कर्मचारीहरूले महसुल उठाउने प्रचलित ऐन, नियम तथा विनियमावलीमा रहेका व्यवस्थाअनुरूप प्राधिकरणले काम गरेको भन्दै त्यस विपरीत जान नहुने भन्दै सरकारलाई सचेत गराएका छन् ।