Bagmati Samachar Logo

रेखा एक्लैले पाँच गोल गरेको खेलमा माल्दिभ्सविरुद्ध ११–० को जित

काठमाडौं । सोमबार दशरथ रंशगालामा भएको महिला फुटबल खेलमा नेपालले माल्दिभ्सलाइ ११ गोल प्रहार गर्यो । माल्दिभ्सले एक पनि गोल गर्न सकेन । नेपालले माल्दिभ्ससँगको खेलमा ११–० ले जित्यो ।

नेपालको जितमा रेखा पौडेलले पाँच गोल गरिन्। उनले खेलको ३१, ४१, ४७, ६३ र ७८ मिनेटमा गोल गरिन्।

प्रिति राईले पनि ह्याट्रिक पूरा गरिन्। उनले खेलको पाँचौं, ६५ र ६७ मिनेटमा गोल गर्न सफल भइन्। यस्तै सविता राना मगरले २८ मिनेट, अनिता केसीले ६८ मिनेट र अमिषा कार्कीले ८८ मिनेटमा गोल गरे।

एकपक्षीय खेलमा नेपालले पहिलो हाफमा चार गोल गर्दा दोस्रो हाफमा सात गोल गरेको थियो।

नेपालकी फरवार्ड साम्बा खेलमा सब्सिच्युटमा थिइन्। उनी हिजो मात्र फ्रान्सबाट नेपाल आइपुगेकी थिइन्।

जितसँगै नेपाल समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ। नेपालले दुई खेलबाट चार अंक जोडेको छ। दोस्रो स्थानको भुटानको पनि चार अंक नै छ। भुटानले आजै भएको खेलमा श्रीलंकालाई ४–१ गोलले पराजित गर्‍यो।

यसअघि पहिलो खेलमा नेपाल र भुटानले गोलरहित बराबरी खेलेका थिए।

अब नेपालले समूहको अन्तिम खेलमा बिहीबार श्रीलंकासँग खेल्नेछ। सो खेलमा बराबरी खेले मात्र नेपाल सेमिफाइनलमा पुग्नेछ।

यसअघिका ६ संस्करण मध्ये नेपाल ५ संस्करणमा उपविजेतामा सीमित बनेको थियो। यसपटक पनि नेपालले उपाधि जित्ने लक्ष्य लिएको छ।