Bagmati Samachar Logo

केपी ओली सरकार रहिरहने हो भने देशले धेरै दुःख पाउँछ : रवि लामिछाने

काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ परेर अनुसन्धानका लागि कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको कडा आलोचना गरेका छन् ।

उनले केपी ओलीको सरकार रहिरहने हो भने यो देशले धेरै दुःख पाउने भन्दै आक्रोस पोखेका छन् । आइतबार कास्की जिल्ला अदालतमा प्रहरीले उपस्थित गराउँदा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले सरकारको रवैयाविरुद्ध आम जनता बाहिर निस्कनुपर्ने बेला आउनसक्ने बताए । ‘अधिनायकवादी सरकारको विरुद्ध यही बेलामा देशैभरीबाट जोजो जहाँजहाँ हुनुहुन्छ, मेरा लागि होइन देशका लागि बाहिर निस्कनुपर्ने बेला आउन सक्छ’, उनले भने, ‘म सबैलाई अपिल गर्न चाहन्छु– सम्पूर्ण न्यायप्रेमी दाजुदभाइ दिदीबहिनीहरू यो सरकार रहुन्जेलसम्म उसले यस्तै हर्कत गरिरहन्छ । झुटा मुद्दामा मान्छेलाई फसाउने काम निरन्तर चलिरहन्छ ।’

उनलाई सूर्यदर्शन सहकारी ठगीसम्बन्धी उजुरीमा अनुसन्धानका लागि सीआईबीले जिल्ला प्रहरी कार्यालय कास्कीको जिम्मा लगाएको थियो । उनलाई कास्की जिल्ला अदालतले शुक्रबार पक्राउ पुर्जी दिएको थियो । त्यहि दिन साँझ काठमाडौँबाट प्रहरीले पक्राउ गरी कास्की लगेको थियो ।