उमेरहदले तात्यो अखिल क्रान्तिकारीको सम्मेलन, नेतृत्व चयन हुनेमा अन्योल
काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बन्दसत्रमा सोमबार कुर्सी हानाहान भएपछि नेतृत्य चयन अन्यौल भएको छ ।
कीर्तिपुरमा जारी बन्दसत्रमा नयाँ नेतृत्व चयनमा उमेरहदबन्दी लगाउने कि नलगाउने भन्ने विषयमा विवाद भएपछि दुई समूहबीच कुर्सी हानाहान भएको हो । एक प्रतिनिधिले भने, ‘बन्दसत्रमा उमेरहदका विषयमा मतदान गर्ने कि नगर्ने भन्दा पनि उमेरहदको विपक्षमा मतदान गर्न अध्यक्षका आकांक्षीले दबाब दिएपछि प्रतिनिधिले नाराजुलुस गरेका थिए । त्यसैमा विवाद हुँदा कुर्सी हानाहान भयो । नाराजुलुस अझै पनि जारी छ ।’
अखिल क्रान्तिकारीको १० असोजबाट सुरु भएको २३औँ राष्ट्रिय सम्मेलनअन्तर्गत राजनीतिक प्रतिवेदन र विधानमाथि छलफल हुँदा उमेरहदको विषयले प्रवेश पाएको हो । आइतबार बसेको माओवादीको पदाधिकारी बैठकमा बहुमत नेताहरूले उमेरहद लगाउनुपर्ने धारणा राखेको एक पदाधिकारीले बताए । ती पदाधिकारीले भने, ‘वरिष्ठ उपाध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारीले उमेरहद लगाउनुपर्ने धारणा राख्नुभयो । अध्यक्षले पनि उमेरहद राखेर सम्मेलनबाट नयाँ नेतृत्व चयन हुनुपर्ने धारणा राख्नुभयो । त्यही भएर आज विद्यार्थी नेताहरूले अध्यक्षसँग छलफल गर्नुभएको हो ।’
बैठकमा उपमहासचिव जनार्दन शर्माले ‘पहिला नै उमेरहद लगाएर जाऊँ, बरु सम्मेलन अलिक ढिला गरौँलाु भन्दा नमानेको एक पदाधिकारीले बताए । उनले शर्माको भनाइ भन्दै भने, ‘मैले ६ महिना पहिला नै उमेरहद लगाएर जाऊँ न भन्दा कसैले मान्नुभएन । अहिले सम्मेलनको हलबाट उमेरहद लगाऊँ भन्दा अप्ठेरो हुन्छ होला । विद्यार्थी एक किसिमको तयारी गरेर आएका छन् । लगाउने भए लगाऔँ । मैले भनेको समयमा नै यो कुरा भनेको भए ठीक हुन्थ्यो ।’
माओवादी पदाधिकारीमा छलफल भएपछि उमेरहद क्रान्तिकारीको सम्मेलनसम्म पुगेको छ । सम्मेलन हलमा आइतबारदेखि नै पक्ष र विपक्षमा नाराजुलुस सुरु भएका छन् । क्रान्तिकारीमा यही सम्मेलनबाट उमेरहद लगाएर जानुपर्छ भन्नेहरूको मत बलियो रहेको एक प्रतिनिधिले बताए । ती प्रतिनिधिले भने, ‘अधिकांश ३२ वर्षमुनिकाहरू उमेरहदको पक्षमा छन् । त्योभन्दा माथिका उमेरहद लगाउनु हुन्न भन्ने पक्षमा छन् । आजै मतदान गरेर टुंग्याउने तयारी छ । उमेरहदमा पनि तीन क्याटगोरी छन् । २८, ३० र ३२ मा उमेरहद लगाउने भन्ने छ । मतदानबाट जे परिणाम आउँछ, त्यही लागू हुन्छ ।’
३२ वर्षभन्दा कम उमेरका विद्यार्थीहरू आइतबारदेखि उमेरहदको पक्षमा एक मत नै देखिन्छन् । विद्यार्थी प्रतिनिधि खुश्वु कँडेलले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘क्षमता हुनेले पार्टीमा गएर पार्टी बनाए पनि त हुन्छ नि । के विद्यार्थीमा बसेर उमेरहद लागू गर्नु हुँदैन भन्दै सिँघौरी खेल्या होलान् । पार्टीमा ३२ सिट, विद्यार्थीमा ३२ वर्षे उमेरहद । अब केही होलाजस्तो छ ।’
क्रान्तिकारीभित्र केही पदाधिकारीले पहिलादेखि नै उमेरहद लागू गरेर जानुपर्ने धारणा राख्दै आएका थिए । त्यसमध्येमा पर्छन् तत्कालीन उपाध्यक्ष क्षितिज सापकोटा । सापकोटाले केही दिनपहिला पेरिसडाँडामा भएको बैठकमा पनि आफूले उमेरहदको कुरा राखेको बताए । उनले भने, ‘मेरो धारणा सुरुबाटै विद्यार्थीको नेतृत्व विद्यार्थीले गर्नुपर्छ, न कि अंकल आन्टीहरूले । अहिले सम्मेलनमा बहसको विषय मात्र होइन, मतदान हुने अवस्था छ । हेरौँ, के हुन्छ मतदानबाट ।’
अब क्रान्तिकारीमा उमेरको हदबन्दी लगाउने कि नलगाउने भन्नेमा मतदान हुनेछ । लगाउनुपर्छ भन्ने पक्षमा भएकालाई २८, ३० र ३२ वर्षमध्ये कतिमा हदबन्दी लगाउने भन्नेबारे पनि मतदान हुने प्रतिनिधि मदन भुलले बताए । उनले भने, ‘आज उमेरहदका विषयमा मतदान हुन्छ । अनि मात्र नेतृत्व चयनका लागि मतदान हुन्छ । उमेदहदका बारेमा के निर्णय आउँछ, त्यसपछि मात्र अरु को–को उम्मेदवार हुन पाउने भन्ने विषयमा छलफल हुनेछ । उमेरहद नलगाउनेमा निर्णय भए पनि पार्टीले मान्ने भनेको छ ।’
पार्टी पदाधिकारी बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ भने उमेरहदको विपक्षमा उभिएका थिए । उनीहरूले तत्काल उमेरहद लगाएर जान नहुने बताएका थिए । क्रान्तिकारीको सम्मेलनबाट माओवादी पार्टीमा पनि आफ्नो पक्षका उम्मेदवार जिताएर संगठन आफ्नो पक्षमा पार्ने प्रतिस्पर्धा चलेको छ । क्रान्तिकारीमा पार्टीका वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवनिकटहरूबीच प्रतिस्पर्धा हुने तयारी थियो । उमेरहद लगाउने पक्षमा मतपरिणाम आएमा अहिले क्रान्तिकारीमा तेस्रो तहका नेताहरूबीच प्रतिपस्पर्धा हुनेछ । पार्टी नेतृत्वमा पनि चार जना नेताहरूबीच कसको दबदबा रहने भन्ने प्रतिस्पर्धा पनि छ ।
उमेरहद लागू भएमा उपाध्यक्ष, महासचिव र उपमहासचिवसम्म बिदा हुनेछन् । ३२ वर्ष उमेरहदमा सचिवभन्दा तलका र विधान नै संशोधन गरेर प्रदेशका अध्यक्षका लागि पनि केन्द्रीय अध्यक्षका लागि बाटो खुल्ला गर्ने तयारी भएको एक पूर्वउपाध्यक्ष बताउँछन् । ती पूर्वउपाध्यक्षले भने, ‘उमेरहद लागेमा केन्द्रीय सचिव र प्रदेश अध्यक्षहरूबाट नेतृत्वमा आउने सम्भावना बढी रहन्छ । उमेरहदको विषयले सम्मेलन नै नहोला भन्ने पनि छ ।’
तत्काल नै नेतृत्व चयन गर्ने भन्दा पनि उमेर हदको विषय टुङग्याउनु पर्ने छ ।
प्रतिक्रिया दिनुहोस्: