Bagmati Samachar Logo

अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलन आजदेखि, प्रचण्डले उद्घाटन गर्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलन आज (असोज १० गते) काठमाडौँमा सुरु हुँदै छ।

त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा आयोजना हुने सम्मेलन दिउँसो ११ बजे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने छन् ।

अजोस ११ गते बिहान ८ बजे बाट बन्दसत्र सुरु हुनेछ। बन्दसत्रको पहिलो दिन विधान तथा प्रतिवेदन पेस हुनेछ।
असोज १२ गते बन्दसत्रमा प्रतिनिधिहरुले समूह विभाजन गरी विधान र राजनीति प्रतिवेदनमाथि छलफल गर्ने छन् ।

समूहगत छलफल, निष्कर्ष तथा रिपोर्टिङ गरिनेछ।

सोही दिन प्रतिनिधिहरूको नामावली निर्वाचन समितिले सार्वजनिक गर्नेछ। सकेसम्म नेतृत्व चयन सर्वसम्मत तरिकाबाट गर्ने सहमति हुन सकेन भने निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन हुने सङ्गठनका इन्चार्ज हिमाल शर्माले जानकारी दिए ।

उनले भने, ‘हामी सकेसम्म सहमतिका आधारमा नेतृत्व छनोट गर्छौ । सहमति भएन भने खुला निर्वाचन प्रक्रियाबाट नेतृत्व छनोट हुनेछ ।’

माओवादी अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, उपमहासचिवहरू जनार्दन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत लगायतका नेताहरू सकेसम्म सर्वसम्मतमा नेतृत्व चयन गराउने तयारीमा रहेको एक विद्यार्थी नेताले बताए । शीर्ष नेताहरूले विद्यार्थी नेताहरूसँग सामुहिक र एक्लाएक्लै भेटघाट र छलफल जारी राखेका छन् ।

वर्तमान अध्यक्ष पञ्चा सिंह आफ्नो कार्यकाल पूरा गरी बिदा हुँदै छिन् । नयाँ नेतृत्वका लागि उपाध्यक्ष र महासचिव ५–७ जनाले दाबी गरेका छन् । महासचिव दीपेश पुन, उपाध्यक्ष मदन भुल, पवन कार्की, नेरश रेग्मी, केशव रावल, नारायण खनाल छन् ।

यस्तै उपाध्यक्ष इन्द्र कुमार भुसाल, जी.पि मैनाली, तुकमान महरा, मिलन एम सी, लक्ष्मी प्रसाद जोशी, सूर्यनारायण शाह, प्रबिना अधिकारी, मदन भट्टराई, क्षितिज सापकोटाले पनि दाबी गरेका छन् ।सम्मेलनमा देशभरिबाट २ हजार ३२३ जना प्रतिनिधि सहभागी हुनेछन् । प्रतिनिधिहरुले सम्मलेनबाट ३३ पदाधिकारीसहित २४३ केन्द्रीय समिति चयन गर्ने छन् । जसमा अध्यक्ष एक , उपाध्यक्ष ९, महासचिव १, उपमहासचिव ९, सचिव १२ र कोषाध्यक्ष १ जना र २४३ जना केन्द्रीय सदस्य चयन गरी असोज १४ गते सम्मेलन सम्पन्न हुने भुलले बताए ।