प्रधानमन्त्री अमेरिका प्रस्थान
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका गएका छन् । संयुक्त राष्ट्रसंघको महासभाको ७९औँ अधिवेशनमा सहभागी हुन प्रधानमन्त्री त्यसतर्फ गएका हुन् ।
प्रधानमन्त्री ओलीले आगामी असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीले नेपाली समय अनुसार असोज ७ कोलम्बिया विश्वविद्यालयमा पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । ओलीले ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’ विषयमा प्रमुख सम्बोधन गर्ने छन् ।

साथै प्रधानमन्त्रीले असोज ११ गते हुने हार्वर्ड विश्वविद्यालयमा जोन एफ केनेडी जुनियर फोरममा ‘नेपालको परिप्रेक्ष्यः सङ्क्रमणकालीन न्यायबाट जलवायु न्याय’ विषयक कार्यक्रमलाई पनि सम्बोधन तय भएको छ । प्रधानमन्त्रीको टोलीमा उनकी धर्मपत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारी पनि न्युयोर्क जाँदै छन्। परराष्ट्रमन्त्री आरजु राणा यसअघि नै क्यानडा पुगिसकेकाले उतैबाट न्यूयोक आउने कार्यक्रम मिलाइएको छ । प्रधानमन्त्री ओलीको टिम आगामी असोज १४ गते स्वदेश फर्कनेछ।
प्रतिक्रिया दिनुहोस्: