Bagmati Samachar Logo

पर्यटन बोर्डमा दोस्रोपटक सीईओ बने दीपकराज जोशी

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दीपकराज जोशी नियुक्त भएका छन् । जोशीलाई पर्यटन बोर्ड सञ्चालक समितिको बिहीबार बसेको बैठकले सीईओ नियुक्त गरेको हो ।

खुला प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीबाट जोशी सीईओ छनोट भएका हुन् । २० मध्ये निवर्तमान सीईओ धनञ्जय रेग्मी, ज्ञानेश्वर महतो र जोशी अन्तिम प्रतिस्पर्धामा थिए ।

जोशी यसअघि धनन्जय रेग्मीभन्दा अघि एक कार्यकाल सीईओ बनेका थिए ।

बोर्ड स्रोतका अनुसार रेग्मी विवादमा तानिएका कारण एक नम्बरमा सिफारिस भए पनि सीईओ बन्न सकेनन् । दोस्रो नम्बरमा रहेका जोशीले बाजी मारेका हुन् । बर्दियाका जोशी पर्यटन बोर्डकै पूर्वकर्मचारीसमेत हुन् ।

सीईओका लागि पर्यटन मन्त्रालयकी सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति बनेको थियो । सो समितिले जोशीसहित तीन जनाको नाम सिफारिस गरेको थियो । समितिले पूर्व सीईओ रेग्मी, जोशी र ज्ञानेश्वर महतोको नाम सिफारिस गरेको थियो ।

पर्यटन बोर्डका तत्कालीन निमित्त सीईओ सुवास निरौलालाई पर्यटन व्यवसयाीले ५२ दिनसम्म रिले अनशन गरी हटाएपछि लामो समय बोर्डमा सीईओ पद रिक्त थियो । त्यसपछि बोर्डमै अधिकृत रहेका जोशी सीईओ बने । जोशीको पहिलो कार्यकाल विवादमा परेको थिएन । लगत्तै दोस्रो कार्यकालका लागि प्रतिस्पर्धा गरेका जोशीलाई धनन्जय रेग्मीले उछिनेका थिए । अहिले रेग्मीलाई जोशीले पछाडि पारे । जोशीले योबीचमा उद्योग परिसंघ (सीएनआई)को महाप्रबन्धक भएर काम गरेका थिए ।