Bagmati Samachar Logo

आईजीपीको जिब्रो थुत्नुपर्ने अभिव्यक्तिले सरकारका प्रवक्ता विवादमा

काठमाडौं । प्रहरी समायोजनमा असहयोग गरेको भन्दै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रहरी महानिरीक्षकको जिब्रो थुत्नुपर्ने अभिव्यक्ति दिएका छन् । उक्त अभिव्यक्तिले उनी विवादमा परेका छन् । उनको अभिव्यक्तिले गर्दा सरकारलाई पनि अप्ठेरो भएको भन्दै धानमन्त्री केपी शर्मा ओलीले सचेत गराएको गुरुङले नै बताएका छन् ।

नियमित ब्रिफिङका लागि भेट्न पुगेका गुरुङलाई ओलीले आइन्दा त्यस्ता अभिव्यक्ति नदिन सचेत गराएका हुन् । प्रधानमन्त्रीसँग भेटपछि प्रवक्ता गुरुङ स्वयंले सार्वजनिक रूपमै आफूले गलत शब्द प्रयोग गरेको महसुस भएको बताएका छन् । राससको २४ घण्टे सेवा शुभारम्भ गर्न दुई घण्टा ढिलो पुगेका गुरुङले प्रष्टीकरण दिँदै भने, ‘मन्त्रालयको कामको नियमित रिपोटिङको काम थियो प्रधानमन्त्रीसँग । त्यही क्रममा पोखरामा बोलेको बिषयमा सोध्नुभयो । तपाईं त सरकारको प्रवक्ता पनि हुनुहुन्छ, बोल्दाखेरी भाषा प्रयोग गर्दाखेरी विवादमा आउनेखाले भाषा प्रयोग गर्नबाट सचेत हुनुस् । उहाँले भनेपछि मैले महसुस गरेँ ।’

गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत रहेका गुरुङ प्रहरी समायोजन लम्बिएको प्रति असन्तुष्ट छन् । त्यही सन्दर्भमा पोखरामा प्रेस चौतारीले राखेको पत्रकार सम्मेलनमा उनले आईजीपी बसन्त कुँवरप्रति रोष पोखेका थिए । ‘अहिले प्रहरीको आईजीपीले के भन्नु भो रु म यो कानुन लागू नै गर्दिनँ भन्नुहुन्छ । त्यस्तो बोल्न पाउने कि नपाउने रु त्यसको जिब्रो थुत्नुपर्थ्यो, मैले भन्दाखेरि’ उनले भनेका थिए, ‘सरकारको नीतिको, व्यवस्थाको विरुद्धमा एउटा संस्थाको प्रमुखले बोल्न पाउँदैन नि । प्रहरी ऐन ल्याउँदै ल्याउँदिनँ भन्ने टाइपको बोल्यो रे भन्ने सुनेको मैले । संघीय प्रहरी ऐन संघीय सापेक्ष कानुनअनुसार ल्याउनुपर्छ । हामी त्यो प्रक्रिया अगाडि बढाउँछौं ।’