भ्रष्टाचारविरुद्ध अभियान चलाउने भन्दै पूर्वउपराष्ट्रपति पुनको घरमा नेकपा बहुमतको कालो ब्यानर
काठमाडौं । केहि समय पहिला मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीबाट विभाजन भएको धर्मेन्द्र बाँस्तोला नेतृत्वको पार्टी नेकपा बहुमतले भ्रष्टाचारविरोधी अभियानको सुरुवात गर्दै पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’को निवासमा कालो ब्यानर टाँगेको छ । ११ भदौमा अभियानको सुरुवात गर्दै पुनको घरमा ब्यानर टाँसेको बहुमतका केन्द्रीय सदस्य तथा बागमती प्रदेश ब्युरोका इन्चार्ज लालबहादुर बीसीले जानकारी दिए ।
बीसीले भने, ‘हाम्रो पार्टीका राजनीतिक कार्यक्रमअन्तर्गत भ्रष्टाचारविरुद्धको जनएकता अभियान सुरु भएको छ । ज–जसले भ्रष्टाचार गरेका छन्, तिनको घरमा कालो ब्यानर टाँगेर पर्दाफास गर्छौं ।’
पुनको दहचोकस्थित स्वीट्जरल्यान्ड डाँडामा रहेको निवासमा ब्यानर राखेर विरोध जनाउन सुरु गरिएको बीसीले बताए । कालो ब्यानरमा लेखिएको छ, ‘जनयुद्धका फौजी कमान्डर र देशका उपराष्ट्रपति बनेका व्यक्तिको सुविधासम्पन्न बंगला निर्माण गर्ने स्रोत के हो ?’
ब्यानरमा ‘२०४६ यता देशका राष्ट्र प्रमुख, सरकार प्रमुखलगायत विशिष्ट व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न दबाबका लागि जनसंघर्ष’ लेखिएको छ । पार्टीले ‘भ्रष्टाचारविरुद्ध जनएकता अभियान’ सञ्चालन गर्ने निर्णय गरेकाले सोही नीतिबमोजिम पुनको घरमा ब्यानर राखिएको र अन्य भ्रष्टहरूको घरमा पनि ब्यानर टाँस्ने अभियान जारी रहेको बीसीले शिलापत्रलाई बताए ।
बीसीले भने, ‘यहाँ कुन पार्टीको कुन व्यक्ति भन्ने छैन । भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाएकाहरूलाई पहिला एक्सपोज गर्नेछौँ । त्यसपछि कारबाही सुरु गर्नेछौँ ।’
बाँस्तोलाको नेतृत्वमा १ साउनमा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीबाट अलग भएपछि बहुमतले देशव्यापी रूपमा भ्रष्टाचारविरुद्ध देशव्यापी भण्डाफोर अभियान चलाउने र उक्त अभियान ३ असोजसम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।
गत वर्ष विप्लव नेतृत्वको नेकपाबाट विभाजन भएर नेकपा बहुमत नाम राखेको र त्यसको केही समयपछि वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीसँग एकता गरिएको थियो । तर वैद्यले क्रान्ति गर्न नचाहेको भन्दै बहुमतका केही नेताहरूले पार्टी विभाजन गरेका छन् ।
बहुमतले ब्यानर टाँसेपछि सुरक्षाकर्मीले उक्त ब्यानर हटाएका छन् । तर, आफूले पुनसँग कुरा गरेरै ब्यानर टाँसेको बीसीले बताए । उनले भने, ‘मैले कुरा गर्दा किन ब्यानर टाँस्न लाग्नुभयो बड्डा भन्नुभयो । मैले हाम्रो पार्टीको भ्रष्टाचारविरुद्ध भण्डाफोर गर्ने नीति हो । पार्टीको नीतिअनुसार साथीहरू ब्यानर राख्न आउँदै छन् भनेँ । उहाँ हास्नुभयो ।’
पुन १० वर्षे ‘जनयुद्ध’मा ‘जनमुक्ति सेना’ का कमान्डर हुन् । उनी २०७२ देखि २०७९ सम्म उपराष्ट्रपति थिए ।
प्रतिक्रिया दिनुहोस्: