Bagmati Samachar Logo

राष्ट्रिय अनुसन्धान विभाग प्रमुखलाई ओलीले भने –विमानस्थलबाट क्विन्टलका क्विन्टल सुन आउँदा थाहा पाउनुपर्दैन, किन बस्या त्यहाँ ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै कार्यलय मातहत रहेको राष्ट्रिय अनुसन्धानको भूमिका र प्रभावकारिता राम्रो नभएको बताएका छन् ।

आइतबार आफू मातहतका निकायहरु राष्ट्रिय अनुसन्धान विभाग,राष्ट्रिय सतर्कता केन्द्र र नेपाल ट्रस्टलाई बोलाएर प्रधानमन्त्री ओलीले कुराकानी गरे‍का हुन्।

छलफलमा राष्ट्रिय अनुसन्धान विभाग प्रमुख हुतराज थापा थिए । प्रधानमन्त्रीले विमानस्थलबाट एकपछि अर्को गरी क्विन्टलका क्विन्टल सुन भित्रिँदासमेत गुप्तचरीको महत्त्वपूर्ण दायित्व पाएको निकायले पत्तै नपाउने अवस्था बनेको भन्दै प्रश्न गरेका हुन्।

‘राष्ट्रिय अनुसन्धान विभाग भनेको के हो ? यो विभागले ठोस काम के गर्‍यो ? इन्टेलिजेन्स (गुप्तचरी), काउन्टर इन्टेलिजेन्स (प्रतिगुप्तचरी, के काम गर्‍यो ? कुन अपराध हुनुभन्दा पहिले थाहा पायो ??,’ प्रधानमन्त्री ओलीका भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।

प्रधानमन्त्रीले अपराध भइसकेपछि पनि राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान, तहकिकातमा कत्तिको महत्त्वपूर्ण खेल्नसक्यो भनेर पनि हेरिनुपर्ने बताए।

‘अपराध हुनुभन्दा पहिले थाहा पाउनुपर्‍यो नि ३२ क्विन्टल पहिले आइसक्यो ,’ राष्ट्रिय अनुसन्धान विभागको नेतृत्वलाई लक्षित गर्दै प्रधानमन्त्रीले भने, ‘तपाईंहरूको मानिस छ त त्यहाँ, विमानस्थलमा छ, भन्सारमा छैनरु अनि किन बस्या त ?’

जबाफमा विभागका अधिकारीहरूले ‘हामी त अध्यागमनबाट आवतजावत गर्ने मानिसहरूलाई मात्रै हेर्छौं’ भनेका थिए।

प्रधानमन्त्रीले ‘अध्यागमन हेर्न त अध्यागमन विभाग नै त्यहाँ मौजुद छ त’ भन्दै प्रतिप्रश्न गरेका थिए। जवाफमा राअविका अधिकारीहरूले सीमित टिओआर (क्षेत्राधिकार) भएको बताएका थिए।

‘हाम्रो क्षेत्रात्रिकार नै तोकिएको छ, हाम्रो पहुँच भन्सारमा छैन,’ राअविका अधिकारीको भनाइ उद्धृत गर्दै त्यहाँ सहभागीले बताए।

अध्यागमनको काम सम्बन्धित विभागले गर्ने बताउँदै प्रधानमन्त्रीले राअविको भूमिका अवैध चोरी, पैठारी नियन्त्रणमा देखिनुपर्ने बताएका थिए।
भन्सारले के गरिरहेको छ, त्यो तपाईंहरूले हेर्नुपर्‍यो। टिओआर पुगेको छैन भने थपौंला। तर हेर्नुपर्छ। यत्रो अनुसन्धान विभाग, प्रहरी, अध्यागन त्यहाँ गएर बसेको छ। ३२ क्विन्टल पार भयो। एक क्विन्टल मात्रै पक्राउ पर्‍यो। त्यहाँ पक्राउ परेन त फेरि। बाहिर पक्राउ पर्‍यो। रिचेक भनेर कर्मचारीले लेखेको ठाउँमा पनि फेरि रिचेक नगरी कसरी बाहिर जान्छ ? वर्तिर आएर पनि हेर्न सक्नुहुन्छ। रिचेक भयो कि भएन भनेर। त्यत्रो निकायहरू छ नि त्यहाँ, हामीले त्यत्रो निकाय राखेका छौं। मोटरआउँछ सुनैसुनको ,’ प्रधानमन्त्रीको भनाइ थियो।

२०८० साउन ३ गते ६० किलो सुन बरामद भएको थियो। त्यस्तै भदौ २६ गते पनि एक किलो अवैध सुन बरामद भएको थियो।

यसैगरी ओलीले राष्ट्रिय सतर्कता केन्द्रको कार्यशैलीप्रति पनि असन्तोष व्यक्त गरेका छ्न । ‘सतर्कता केन्द्रले के गरिराखेको छ ? केही गरिरहेको छैन भने त्यो कार्यालय किन राख्ने ?’ ओलीले सतर्कता केन्द्रका अधिकारीलाई सोधे, ‘जिब्रो चपाएर कुरा नगरौं । काम छ भने राखौं, काम छैन भने सतर्कता केन्द्र डिजल्भ (खारेज) गरौं । दूध नदिने भैंसीलाई घाँसकुँडो मात्रै खुवाएर राख्ने ? न गाभिन्छ, न दूध दिन्छ । हरेक कार्यालयले अब आफ्नो औचित्य पुष्टि मात्रै गरेर हुँदैन, हाइ रिटर्न दिनुपर्छ ।’

उनले नेपाल ट्रस्टबाट भइरहेका कामसँग आफू असन्तुष्ट रहेको बताए । ट्रस्टका अधिकारीले अहिले सबैजसो जग्गा आफूहरुसँग रहेको दाबी गरेपछि ओलीले कानुन सम्झाउँदै भने, ‘ट्रस्टको जमिन बेच्न पाइँदैन, कसैलाई दिन, दानदातव्य गर्न पाइँदैन । उसो भए ट्रस्टको सम्पत्ति सबै तपाईंहरुसँग छ ?’

ट्रस्टका पदाधिकारीसँग पनि ओली सन्तुष्ट नरहेको सहभागीले बताए ।