Bagmati Samachar Logo

म महिलालाई प्रधानमन्त्री बनाउन चाहन्छु : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालमा महिला प्रधानमन्त्री बनाउन चाहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित युथ कनक्लेभ २०२४ मा उनले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले आफूले नै पहिलो महिला राष्ट्रपति, पहिलो महिला प्रधानन्यायाधीश, पहिलो महिला सभामुख, पहिलो महिला रक्षामन्त्री बनाएको र अहिले पछिल्लो समय महिला मुख्यसचिव बनाएको दाबी गरे ।

उनले भने, ‘म महिला प्रधानमन्त्री बनाउन चाहन्छु तर त्यसका लागि अलिकति तयारी गर्नुपर्छ । दुई महिना, तीन महिना, अर्को साल महिला प्रधानमन्त्री बनाइहाल्छु भन्न मुश्किल हुन सक्छ, छिट्टै बनाउने तयारीका बारेमा सोचिरहेको छु ।’

‘म कमसे कम यस्तो शौभाग्यशाली मान्छे हुँ, जसले पहिलो राष्ट्रपति महिला बनायो, पहिलो प्रधानन्यायाधीश महिला बनायो, पहिलो सभामुख महिला बनायो’, उनले भने ।

नेपालमा पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारी, पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्की र पहिलो महिला सभामुख ओनसरी घर्ती हुन् ।

ओलीले पहिलो रक्षामन्त्री पनि आफ्नो दलबाटै बनेको भन्दै अहिले पहिलो महिला मुख्यसचिव पनि आफूले नै बनाएको बताए । ‘अहिले भर्खरै म आउनेबित्तिकै मौका पाएँ एउटा महिलालाई मुख्य सचिव बनाइहालेँ’, प्रधानमन्त्री ओलीले भने ।

अहिले विदेश भ्रमणमा जाने सरकारी प्रतिनिधिमण्डलमा महिला अनिवार्य गरेको पनि उनले बताए ।

आफूले महिलाको लागि थुप्रै काम गरेको भन्दै उनले राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने व्यवस्थामा पनि आफ्नो प्रमुख भूमिका रहेको दाबी गरे ।