पुरातात्विक एवं ऐतिहासिक सम्पदा संरक्षण गरेर भावी पुस्तालाई हस्तान्तरण गर्नु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पुरातात्विक एवं ऐतिहासिक सम्पदको संरक्षण गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्नु गर्ने बताएकी छिन् ।
भक्तपुर विकास सहयोग सङ्घको ३०औँ वार्षिक साधारणसभा तथा ३०औँ खोपृङ सम्मान कार्यक्रममा उक्त कुरा बताएकी हुन् । उनले भनिन्,‘मूर्त तथा अमूर्त कला, सम्पदाले सजिएको सांस्कृतिक रुपमा संरक्षित ऐतिहासिक दरबार क्षेत्र र यहाँका सांस्कृतिक सम्पदाका कारण भक्तपुर जीवित शहरको रुपमा परिचित छ । सांस्कृतिक धरोहर, ऐतिहासिक सम्पदाले सजिएको भक्तपुर पूर्खाको पौरखबाट सृजित उन्नत सहरको रुपमा स्थापित भएको छ, हाम्रा पुर्खाले सृजना गरेका ऐतिहासिक सम्पदाको संरक्षण गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो जिम्मेवारी हो ।’
पूर्वराष्ट्रपति भण्डारीले भक्तपुर विकास सहयोग सङ्घले सम्पदा संरक्षणका अतिरिक्त सामाजिक सेवाका क्षेत्रमा उल्लेखनीय काम गरेको बताइन् । सङ्घले प्रकाशन गरेको खोपृङ पत्रिकामा विषय विज्ञद्वारा लिखित लेख रचनाले नेपाली वाङ्मयका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने उनले विश्वास व्यक्त गरिन् ।
यस्तो कार्यक्रमबाट पर्यटनको प्रचारप्रसारका साथै स्थानीयको आयआर्जनमा महत्वपूर्ण काम भइरहेको बताएकी छिन् । उनले भक्तपुरको प्रसिद्ध जुजु धौले देशभर प्रसिद्धि कमाएको बताइन् । दार्शनिक एवं सांस्कृतिक चिन्तक जगमान गुरुङ, वरिष्ठ सीमाविद् बुद्धिनारायण श्रेष्ठ, संस्कृति शिरोमणि हरिराम जोशी, वरिष्ठ वाङ्मय साधन तथा भाषासेवी तेजेश्वर बाबु ग्वंगः र वरिष्ठ गायक योगेशवर अमात्यलाई सम्मान गरिएको थियो ।
बागमती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठले समाजले सामाजिक क्षेत्रमा उत्कृष्ट कार्यहरू गर्दै आइरहेको उल्लेख गर्दै समाजले गरेको कामप्रति आभार व्यक्त गरे । समाजका अध्यक्ष राजु मृगेन्द्र जोशीले सामाजिक कार्यका लागि गरिएको सानो कार्यले ठूलो परिवर्तन हुनसक्ने बताए ।
प्रतिक्रिया दिनुहोस्: