माओवादी बैठकमा प्रधानमन्त्री ओलीदेखि परराष्ट्रमन्त्री आरजुका बारेमा चर्चा
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस एमालेको गठबन्धन धेरै लामो समय नजाने बताएका छन् । बागमती प्रदेशस्तरीय परामर्श समितिको बैठकमा प्रचण्डले अहिलेको सत्ता गठबन्धन लामो समय नजाने छाँटकाँट देखिएको दाबी गरेका छन् ।
बैठकमा प्रचण्डको भनाइ भन्दै एक केन्द्रीय सदस्यले भने, ‘कांग्रेस एमाले बाहिर मिले जस्तो देखाइरहेका छन् । तर भित्र मिलेका छैनन् । एकले अर्कालाई शंकाको नजरले हेरिरहेका छन् । हामी सरकारमा जाँदै नजाने भन्ने नीति चाहिँ होइन तर हामीले सरकारलाई प्राथमिकतामा राखेका छैनौँ ।’
प्रचण्डले बैठकमा परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भारतले दिएको महत्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै चित्त नबुझेको बताए । प्रचण्डको भनाइ उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने, ‘भारतले परराष्ट्रमन्त्रीलाई जुन महत्व दियो त्यसले प्रधानमन्त्री झस्किनुभएको छ । उहाँलाई यति महत्व दिएको कुरा चित्त नबुझेको देखिन्छ । यो भनेको गठबन्धनमा राम्रो छैन भन्ने हो ।’
भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री राणाले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेकी थिइन् ।
बैठकमा ओलीले अरु दललाई गर्ने व्यवहार बारेपनि प्रचण्डले ब्रिफिङ गरेका थिए । भारतमा राणाले पाएको सम्मानका बारेमा पनि चर्चा भएको एक नेताले बताए ।
प्रतिक्रिया दिनुहोस्: