Bagmati Samachar Logo

कांग्रेस र एमालेबीचको सहमति अरु दलविरुद्ध होइन : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र एमालेबीच भएको सहमति अरु दलविरुद्ध नभई देशलाई अघि बढाउन भएको बताएका छन् ।

कांग्रेस नेता प्रदीप गिरीको दोस्रो स्मृति दिवसका अवसरमा स्कुल अफ डेमोक्रेसीले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘राजनीतिमा निष्ठा र नैतिकता’ विषयक विमर्श कार्यक्रमलाई सम्बोधन गर्दै उनले बहुलवादका आधारमा लोकतान्त्रिक समाजवाद उन्मुख संविधान बनेकाले त्यसलाई सफल बनाउन पनि दुई ठूला दलबीच सहमति भएको बताए ।

स्वर्गीय गिरीको भावनालाई सम्मान गर्न पनि संविधान संशोधन गरिनुपर्नेमा उनको जोड थियो । संविधान कार्यान्वयनका क्रममा आएका समस्या समाधान हुने गरी संविधान संशोधन हुनुपर्नेमा पनि सभापति देउवाले जोड दिए ।

उनले भने, ‘देशलाई अघि बढाउने सोच विचार गरिकन दुई दलबीच सहमति भएको हो, यो सहमतिलाई कुनै दल विशेषले आफ्नाविरुद्ध भएको हो भनी बुझ्नु गलत हुनेछ, दुई ठूला दलबीच भएको सहमति लुकाएका छैनौँ, यसलाई लिखित रूपमै सार्वजनिक गरेका छौँ ।’