Bagmati Samachar Logo

सरकारले भ्रष्टाचार र राज्य दोहन गर्न नरोकिए नेपालमा बंगलादेशको परिस्थिति आउन सक्छ : वर्षमान

हेटौँडा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले वर्तमान सरकारले भ्रष्टाचारी र राज्य दोहनको प्रक्रिया नरोकिए नेपालमा बंगलादेशको परिस्थिति आउन सक्नेतर्फ सचेत गराए । उनले राज्य सञ्चालनमा जनताको सहभागिता, समावेशिता र फराकिलो लोकतान्त्रिक अभ्यासबिना राज्य सञ्चालनमा निर्वाचन जित्नुमात्र लोकतन्त्र होइन भन्ने दक्षिण एसिया र विश्वका अरू देशहरुका घटनाक्रमबाट शिक्षा लिन सक्नुपर्ने औंल्याए ।

पार्टी सम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारी प्यूठानको जिल्ला सम्मेलनलाई आइतबार खलंगामा सम्बोधन गर्दै पुनले सुरुआती कार्यशैलीले सरकार भ्रष्टाचारमैत्री देखिएको बताए ।

उनले भ्रष्टाचारविरुद्धको अभियानबाट सचेत भएका जनताको भावनाविपरीत सरकार अघि बढे जनताले विद्रोह गर्ने चेतावनी दिए । माओवादी नेतृत्वको सरकारले सुशासनको पक्षमा तथा भ्रष्टाचार र राज्य दोहनका विरुद्ध कठोर कदम चालेपछि आत्तिएका तत्त्वहरूले रातारात सरकार ढालेको उनको भनाइ थियो ।

‘हाम्रो अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले चलाएको सुशासनको अभियानलाई अनियमितता, राज्य दोहन र सरकारी सम्पत्ति कब्जा गरेर मोज गरिरहेका मानिसहरुले मन पराएनन्’, पुनले भने, ‘म यो सरकारलाई भन्न चाहन्छु हाम्रो पार्टी नेतृत्वको सरकारले थालेको भ्रष्टाचार र राज्य दोहनविरुद्धको अभियान नरोकियोस् ।’