प्रचण्डलाई जनार्दनले भने, ‘तपाईंलाई हटाएर अध्यक्ष हुने कुनै चाहना छैन’
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष प्रचण्डलाई हटाएर आफू अध्यक्ष हुने कुनै चाहना नरहेको प्रष्टिकरण दिएका छन् ।
प्रचण्डलाई हटाएर आफू अध्यक्ष बन्न नखोजेको पनि उनले बताए।
‘सत्ताको नेतृत्व गर्नुस् संगठनको अरूलाई दिनुस् भनेको हो। के यो अन्याय हो ? के उहाँप्रति अपमान हो ? उहाँलाई हटाएर म अध्यक्ष बन्न खोजेको होइन ? मलाई चाहिएको छैन अध्यक्ष,’ शर्माले भने।
शर्माले अध्यक्षको भूमिकालाई माथि उठाउन र थप स्थापित गर्नका लागि आफूले प्रस्ताव गरेको पनि दाबी गरे ।
‘हामीले गरेको आन्दोलनहरू, युद्धहरू, परिवर्तनहरू स्थापना गरेका छौं। त्यसको संश्लेषण चाहिँदैन ? त्यसलाई वैचारिकमा ढाल्नुपर्दैन ? त्यसले अरू सय वर्ष, दुई सय वर्ष अगाडि बढ्नुपर्दैन ? मैले त प्रचण्डलाई अरू दुई सय वर्ष बचाउने कुरा गर्दैछु,’ उनले भने।
शर्माले दुई सय वर्ष प्रचण्ड बाँचुन्, उनको विचारले गाइड गरोस् भनेको कुरालाई नेतृत्वको विरूद्ध आयो भनेर आफूमाथि अत्याचार गर्न प्रयत्न गरिएको समेत बताए।
‘प्रचण्डले भौतिक हुँदा मात्रै जिवित हुँदा मात्रै नेतृत्व गर्ने कि, त्यो विचार दिएर नेपाललाई परसम्म समाजवादी क्रान्तिसम्म नेतृत्व गर्ने तपाईँ आफू रोज्नुहोस्,’ उनले भने।
तर पार्टी बनाउने नै हो भने छलफल आवश्यक रहेको पनि उनले बताए। ‘नेतृत्वलाई स्थापित गर्न यति नयाँ ढंगले जाँदैनौं भने हामी सकिन्छौं। हामी नसक्किऔं भन्दा मैले अनेक आरोप खेप्नुपर्नेरु खपौँला आन्दोलनका लागि, पार्टीका लागि खप्ने कुरा केही छैन,’ उनले भने।
उनले फुटाउन खोजिएको आरोप अध्यक्षले नै गर्नुपर्ने बताए। त्यसको निर्णय स्थायी कमिटी बैठकले पनि गरेको बताए।
‘फुटको प्रचार हेडक्वार्टर वरिपरिबाट भएको हो। सिधा कुरा छ। उहाँको भूमिका कति छ त्यो उहाँले नै भन्नुहोला,’ शर्माले भने, ‘त्यो कुराको खण्डन अध्यक्षले नै गर्नुपर्छ। प्रत्येक पार्टी सदस्यसँग कानेखुशी गरेर भन्न सक्दिनँ। निर्णय पनि त्यही भएको छ।
आफूमाथि नेतृत्व तहबाटै पार्टी फुटाउन खोजेको आरोप लगाइएको बताएका छन्।
माओवादी केन्द्रको रकुम पश्चिम(काठमाडौं सम्पर्क समन्वय समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले हेडक्वार्टर र त्यसवरिपरिबाट आफूलाई पार्टी फुटाउन खोजेको आधारहीन आरोप लगाएको बताएका छन्।
उनले स्थायी कमिटी बैठकमा प्रतिवेदन प्रस्तुत गरेसँगै आफूले अध्यक्ष बन्न खोजेकोदेखि पार्टी नै फुटाउन लागेको आरोप खेप्नुपरेको बताएका हुन्।
रूकुम पश्चिमका नेता कार्यकर्ताहरूबीच आफूमाथि लागेको आरोपबारे जनार्दनले २५ मिनेटसम्म बोलेर खण्डन गरे। उक्त कार्यक्रममा अध्यक्ष प्रचण्ड पनि सहभागी थिए। प्रचण्डका अगाडि उनले आफूमाथि लगाइएको आरोप र नेतृत्वले गर्ने व्यवहारबारे बताइरहँदा कहिले नरम, कहिले आक्रोशित देखिए।
शर्माले सुरूवातमै रूकुमले माओवादी आन्दोलनलाई ठूलो योगदान गरेको तर अहिले आएर पार्टी फुटाउँदैछ भन्ने चर्चा देशभर फैलाइएको बताए।
‘तपाईंहरूलाई मेरो अनुहार कस्तो लाग्छ ? तपाईंहरूले मलाई दलाल जस्तो देख्नुहुन्छ ? म दलालजस्तो छु ? म यो पार्टी फोर्नेजस्तो देख्नुहुन्छ ?,’ कार्यकर्ताहरूलाई शर्माले भने, ‘तर त्यो आरोप आज मैले खपिरहेको छु। पार्टीको उच्च तहबाट, नेतृत्वको वरिपरिबाट देशभरी पार्टी फुटाउँदै छ भनेर बदनाम गरिँदैछ।’
उनले त्यसले आफूलाई दुःखी बनाएको पनि बताए। शर्माले हिजो पार्टीलाई वैचारिक, सांगठानिक, युद्ध मोर्चा, जनपरिचालनदेखि संसदसम्म आवश्यकता पर्दा रूकुमले भूमिका खेलेको बताए।
‘यतिबेला अलिकति संघर्ष आवश्यक ठान्यो, अलिकति प्रश्न गर्नुपर्ने आवश्यकता ठान्यो र आज प्रश्न गरिरहेको छ। त्यो प्रश्नभित्र न कुनै षड्यन्त्र छ न कुनै दूराग्रह छ न कुनै नेतृत्वप्रतिको अपमानको कुरा छ,’ उनले भने।
त्यसमा पार्टी बनाउने र रूपान्तरण गर्ने हुटहुटीबाहेक केही नरहेको पनि उनले बताए। त्यसमा उनले अध्यक्ष प्रचण्डलाई सोधे, ‘इमानदार बन्न पाइँदैन यो देशमारु यो पार्टीमा इमानदार भएर बोल्न पाइँदैन ?’
शर्माले नेतृत्व मनोगत हुँदा त्यसलाई वस्तुगत बनाउनै पर्ने भएकाले आफूले प्रश्न गरेको बताए।
‘प्रश्न मात्रै गरिनँ पार्टी कसरी बनाउने भन्ने आफ्नो योजना पनि प्रस्तुत गरेको छु। हामीले कहाँ कहाँ गल्ती गर्यौं कसरी सच्याउने भन्ने कुरा पनि गरेको छु,’ उनले भने।
नेतृत्वमाथि प्रश्न गर्दा भने प्रचण्डलाई पार्टीबाट निकाल्न खोजियो भनेर देशभरी प्रचार गरिएको शर्माले बताए।
‘मेरो लिखित छ त्यहीँ । अध्यक्ष प्रचण्ड नभएको भए जनयुद्ध हुने थिएन, यो परिवर्तन हुने थिएन। यो उपलब्धिको श्रेय उहाँलाई छ, त्यसमा हामी दाबी गर्दैनौं भनेको छु। यता आइसकेपछिका समस्याहरूमा उहाँ एक्लै होइन हामी पनि छौं है। कमी कमजोरीको भाग हामी पनि लिन्छौं भनेका छौं। यो भन्दा न्याय र सच्चाई के हुन्छरु,’ शर्माले प्रश्न गरे।
तर आफूलाई पार्टी खोल् भन्ने सुझावहरू पनि प्रशस्तै आएको उनले बताए।
‘मैले किन खोल्ने ? यही पार्टी मेरो हो भनेको छु। म किन खोल्ने ? मेरोमात्र होइन मजस्ता हजारौंको हो यो पार्टी। मैले त्यो भनेको छु,’ शर्माले भने।
१४ वर्षदेखि आन्दोलनमा लागेको ६ वर्षपछि अध्यक्ष प्रचण्डसँग भेट भएको र अहिलेसम्म उनीसँगै रहेको पनि उपमहासचिव शर्माले बताए। ४८ वर्षको अवधिमा धेरै आक्रमण र हमलाहरू भएपनि साबित गरेर प्रमाणीत गर्न नसकेको उनले बताए।
शर्माले रूकुममा नेतृत्वको आलोचना गर्ने छुट भएकाले पनि बताए। रूकुममा पार्टीको माहोल प्रचण्ड स्वयंले देखेर आश्चर्यमा परेको स्मरण पनि गराए।
रूकुमको भूगोलले आफूलाई इमानदार बनाएको शर्माले बताए।
विप्लव जीलाघई आउनुस् भनेका छौं। माधवजीलाई आउनुस् भनेका छौं। कहिलेकाहीँ विप्लवलाई आउन दिएन भन्दा रहेछन्। मैल किन आउन नदिने ? मै हुँ नफुटा भन्ने,’ उनले भने।
शर्माले एमालेसँग एकता गर्दा आफूलाई केपी ओलीको र कांग्रेससँग सहकार्य गर्दा आफुलाई कांग्रेसको मान्छे बनाइएको बताए।
‘एमालेसँग एकता गरौं भन्नुभयो गरेँ केपी ओलीको मान्छे भएँ। कांग्रेससँग सहकार्य गर् भन्नुभयो त्यो गर्न वार्ता गरेँ। कांग्रेसको मान्छे भएँ। माओवादीको हुने ठाउँ छ कि छैन अध्यक्ष कामरेड म ?,’ उनले भने।
शर्माले अगाडि भने, ‘म माओवादीको कहिले हुन्छु होला ? हुन पाउनुपर्यो नि । ४८ वर्ष भयो पार्टीमा लागेको माओवादी हुन पाउनुपर्दैन म ? प्रचण्डको कहिले हुन्छु। तपाईंको म हुन पाउनुपर्दैन ?,’ उनले भने।
प्रतिक्रिया दिनुहोस्: