माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका खेलेको हुँ : माधव नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन आफूले खेलेको भूमिकाको स्मरण गरेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्ु भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै अध्यक्ष नेपालले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन वातावरण मिलाउन आफूले खेलेको भूमिकाको स्मरण गरेका हुन् । तत्कालीन युद्धरत माओवादी र सरकारबीच ५ मंसिर २०६३ मा शान्ति सम्झौता भएको थियो । शान्ति सम्झौताका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका नेपाल त्यतिबेला एमाले महासचिवको भूमिकामा थिए ।
‘कतिपय कुरामा साक्षी छौँ । तत्कालीन समयका राजा ज्ञानेन्द्रको कुरा आयो । मेले भेटेको थिएँ, माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनुपर्छ भनेको थिएँ,’ उनले भने । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग २०४३ सालदेखि राजनीतिमा सँगै रहेको उनले बताए । माओवादी युद्धमा रहँदा २०५४ सालदेखि प्रचण्डसँग कुराकानी हुने गरेको नेपालले बताए । उनले २०५६ सालदेखि २०५८ सालसम्म माओवादीका नेताहरूलाई नेपाल र भारतका विभिन्न ठाउँमा गएर भेटेको स्मरण गरे ।
‘३१ साउन २०५८ मा सिलगुढी बैठक चर्चित भएको थियो । वामदेव गौतमले दुईबीच कुरा मिलाउनुस् भनेका थिए । १० बुँदा प्रचण्डलाई सुनाएको र जनतासँग कस्तो व्यवहार गर्ने भनेर सुनाएको थिएँ । नागरिक सुरक्षित हुनुपर्छ र अनुचित व्यवहार नहोस्,’ अध्यक्ष नेपालले भने । उनले पीडितहरूले न्याय पाउनुपर्ने बताए । ‘पीडितले न्याय कसरी पाउने ? सम्पत्ति घर कब्जामा परेको पीडितहरू पनि छन् । कसैको घर जग्गा कसैले अनुचित ढंगले लिएको छ भने तत्काल फिर्ता हुनुपर्छ,’ उनले भने ।
माओवादीसँग शान्तिका लागि भेट गर्दा तत्कालीन गृहमन्त्री कमल थापाले आपराधिक मुद्दा चलाउने भनेर सार्वजनिक मञ्चबाट दिएको धम्की पनि उनले स्मरण गरे । २०६० सालमा दाङमा भएको सभामा गिरफ्तार गर्न चुनौती दिएको नेपालले स्मरण गरे । ‘शान्तिको बाटोमा ल्याउन सबैले पहल गर्नुपर्छ । पहल गरेको छु । हिम्मत छ भने गिरफ्तार गर्नुस् भनेको थिएँ,’ उनले भने ।
५ र ६ कात्तिकमा वामदेव र आफूलाई प्रचण्डले रोल्पामा बोलाए पनि जान नसकेको उनले बताए । धवल शमशेरको घरमा बास बसेर बसबाट भारतको लखनउ पुगेको बताए । पार्टीका नेताहरूको पहलमा माओवादीसँग सम्झौता गर्दा तत्कालीन एमाले नेता केपी शर्मा ओलीले कारबाही गर्नुपर्छ भनेको प्रसंग पनि नेपालले स्मरण गरे ।
तर पछि शान्ति प्रक्रियामा ओली र कांग्रेस नेता कृष्णप्रसाद सिटौला सहयोगी रहेको उनले बताए । भारतमा माओवादीसँग सहमतिको ड्राफ्ट बनाएर तत्कालीन कांग्रेस प्रजातान्त्रिकका सभापति शेरबहादर देउवालाई भेटेको र देउवाले केही कुरा थपौँ भनेको प्रसंग पनि उनले स्मरण गरे । जेलमा रहेका देउवालाई पार्टीका कार्यवाहक सभापति गोपालमान श्रेष्ठलाई अधिकार दिन भनेको उनले बताए । ‘साना दुस्खले आर्ज्याको मुलुक होइन भनेको जस्तो साना दुस्खले ल्याएको शान्ति प्रक्रिया होइन, सबैलाई चेतना भया,’ नेपालले भने ।
२२ कात्तिक २०६३ मा सात दल र माओवादीबीच बालुवाटारमा सम्झौता भएको थियो । त्यसपछि ५ मंसिर २०६३ मा विस्तृत शान्त्रि सम्झौता भएको उनले बताए । शान्ति सम्झौतामा सरकार र युद्धरत पक्षको मात्र नभएर अन्य पक्षको पनि नाम राखौँ भन्दा सानो चित्त भएकाले सहभागीहरूको नाम राख्न नमानेको उनले बताए । सो कुरा आफू रिसाएर शान्ति सम्झौता हुँदा नजाने निर्णय लिएको र पछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गर्न पर्खिरहेको भनेपछि आफू गएको उनले बताए ।
‘शान्ति सम्झौता हुँदा मेरो रिसाएको फोटो छ । प्रचण्ड र गिरिजाले फोन गरेर पर्खिरहेका छौँ भनेर फोन गरेपछि गएको हुँ,’ उनले भने । शान्ति प्रक्रिया हुँदा आफूले ज्याकेट लगाएको फोटो रहेको र रिसाएर नजाने भनेर आफू बसेको बताए । शान्ति प्रक्रिया नेपालको होम प्रोडक्ट रहेको उनले बताए । ‘बाहिरको शक्ति नेपालमा हाबी हुन खोजेका थियो । बिदा गर्नुपर्छ भनेपछि आफूलाई धम्की आएको र अन्तर्राष्ट्रिय अदालतमा लैजाने धम्की आएको थियो,’ उनले स्मरण गरे ।
प्रतिक्रिया दिनुहोस्: