द्वन्द्वका सबै पक्षले न्यायको अनुभूति गर्ने विश्वास छ : देउवाको
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले टीआरसी विधेयक कानुनमा परिणत भएपछि द्वन्द्वका सबै पक्षले न्यायको अनुभूति गर्ने विश्वास व्यक्त गरेका छन् । बुधवार प्रतिनिधिसभाको बैठकमा टीआरसी विधेयकमाथिको छलफलमा भाग लिँदै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउने बिन्दुमा अन्तर्राष्ट्रिय जगतले समेत नियालिरहेको बताए ।
उनले विभिन्न अन्तर्राष्ट्रिय कानुनलाई समेत मध्यनजर गरेर विधेयक अगाडि बढाइएको भन्दै शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्न लागि परेको बताए । त्यसक्रममा उनले यसअघि सबै दलहरू एक ठाउँमा उभिएर राम्रो संविधान बनाएको भन्दै अब उक्त संविधान कार्यान्वयन गर्नु सबैको दायित्व भएको बताए ।
‘मुुलुकलाई अप्ठ्यारो पर्दा राजनीतिक दलहरू एक ठाउँमा आउने विशिष्ट अभ्यास छ । संक्रमणकालीन न्यायलाई निष्कर्ष पुर्याउन पनि सबै दलहरू एक ठाउँमा आउने विश्वास लिएका छौँ,’ देउवाले भने ।
शान्ति सम्झौतापछिको १८ वर्षको अवधिमा नेपालले द्वन्द्वका हतियार व्यवस्थापन, सेना समायोजन र संविधानको सफल प्रयासपछि मौलिक रूपमा शान्त्रि प्रक्रियाको बाटोमा रहेको उनले बताए । नेपालको शान्ति प्रक्रियामा सरोकारवाला पक्ष र अन्तर्राष्ट्रिय समुदायले पनि स्वागत गर्ने विश्वास लिएको देउवाले बताए ।
प्रतिक्रिया दिनुहोस्: