Bagmati Samachar Logo

हरिबोलले देखाए प्रचण्डको कमजोरी, भेट नदिएकोमा प्रसाईंकाे गुनासाे

काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी स्थायी समिति बैठकमा उपमहासचिव हरिबोल गजुरेलले संविधान निर्माणताका अध्यक्ष प्रचण्डको छवि राम्रो भए पनि त्यसपछि निरन्तर बिग्रिँदै गएको बताएका छन् ।

बैठकमा लिलखिति प्रस्ताव राखेका गजुरेलले तोेकेको २० मिनेटको समय बोलेका थिए ।
‘संविधान बन्दासम्म माओवादीको क्रेज राम्रो थियो । थोरै सिट ल्याए पनि मधेसी दललाई समेत सहमति गराएर संविधान जारी गराउँदा प्रचण्डको इमेज पनि राम्रो थियो तर बिस्तारै खस्किँदै गएकोतर्फ गजुरेलको भनाइ रहेका ,े’ ती सदस्यले बताए ।

समाजवादको कुरा गर्दा सहरी क्षेत्र रहेको पूर्वमा नेतृत्वले ध्यान दिन नसक्दा पार्टी कमजोर भएको निष्कर्ष निकाल्दै गजुरेलले भनेका थिए, ‘क्रान्तिलाई पश्चिमबाट पूर्वमा सिफ्ट गर्नुपर्थ्यो । गाउँबाट सहरमा सार्नुपर्थ्यो । पार्टीले गाउँ क्षेत्रलाई नै प्राथमिकता दियो ।’

गजुरेलले पुँजीवाद भएको ठाउँमा धेरै श्रमिक हुनाले त्यस्तो ठाउँ नै समाजवादको आधार हुने बताए । संविधान बनेपछि त्यता ध्यान दिनुपर्नेमा नेतृत्व चुकेको उनको भनाइ थियो । ‘पूर्वी क्षेत्र, सहरी क्षेत्रमा संगठन बलियो बनाउनुपर्थ्यो । यसमा ध्यान नपुग्दा पूर्वमा हामी चौथो पार्टी भयौँ,’ बैठकमा उनले भने, ‘काठमाडौँ उपत्यका प्रायः शून्य नै भयौँ । कार्यदिशा समाजवाद भन्ने, काम कारबाही जनयुद्धकालीन भयो ।’

उनले एमालेसँग गठबन्धन गर्नु ठिक भए पनि वैचारिक रूपमा पर्याप्त तयारी नगरी हतारोमा एकता गर्दा पार्टीलाई ठुलो क्षति भएको बताएका थिए ।

बैठकमा ज्येष्ठ कम्युनिस्ट मञ्चका अध्यक्ष नन्दप्रसाद प्रसाईँले आफूलाई भेट नदिएकोमा अध्यक्ष प्रचण्ड प्रति असन्तुष्टि पोखेका एक स्थायी समिति सदस्यले बताए । उनले विधान अधिवेशनले पास गरेकोभन्दा फरक विधान आएकोमा पुनर्लेखन हुनुपर्ने माग राखेका थिए । प्रचण्डसँग आफूमात्र नभई पार्टीका ८० प्रतिशत नेता तथा कार्यकर्ता रूष्ट भएको प्रसाईंको भनाइ थियो ।

स्थायी समिति सदस्य खगराज भट्टले आफूलाई दलको नेता बनाउन अध्यक्षले दिएको निर्देशन कार्यान्वयन हुँदैन भने पार्टी कसरी बन्छ भनेर प्रश्न उठाएका थिए । पार्टीमा विधि र पद्धति मिचेर जाने हो भने माओवादी आन्दोलन नै समाप्त हुने उनले चेतावनी दिएका थिए ।

यता लेखा आयोगका अध्यक्ष पेशलकुमार खतिवडाले विधान अधिवेशनले पास गरेको विधान फरक ढंगले लेखिएर आएकोमा असन्तुष्टि जनाएको अर्का एक सदस्यले बताए । आठौँ महाधिवेशनमा प्रचण्डले पार्टी सच्चिने कि अवसान हुने भनेको प्रसङ्ग कोट्याउँदै उनले दुई वर्षपछि आउँदा समेत पार्टीमा कुनै परिवर्तन नआएकोमा प्रश्न उठाएका थिए ।

खतिवडाको भनाइ भन्दै ती सदस्यले भने, ‘आठौँ महाधिवेशनमा जहाँ तपाईंले कि त पार्टी रुपान्तरण हुनुप¥यो, कि त अवसान रोज्नु प¥यो भन्नुभएको थियो । तर दुई वर्षपछि आउँदा पनि तपाईंमा कुनै परिवर्तन देखिएन, के फरक भयो ? अब पनि नसच्चिने भए अवसानमा जाने हो त ?’