Bagmati Samachar Logo

माओवादी बैठक : जनार्दन शर्माको आरोप अध्यक्ष प्रचण्डको डिजाइनमा एमालेमा जाँदै छ भन्ने प्रचार गरियो (पूर्णपाठसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा उपमहासचिव जनार्दन शर्माले पार्टी सञ्चालनको मूल्यमान्यता, विधान र पद्धतिको धज्जी उडाइएको आरोप लगाएका छन् । उनले बैठकमा पेस गरेको राजनीतिक प्रस्तावमा नेतृत्वकै असक्षमताका कारण एकातिर प्रणाली स्थापित हुन नसकेको र अर्कोतिर संगठन पनि बलियो हुन नसकेको उल्लेख छ ।

संगठन स्वरुप र कमिटीहरू कुन बेला कस्तो बन्छन् भन्ने कुराको कुनै ठेगान नै नभएको शर्माले प्रस्तावमा उल्लेख गरेका छन् । माओवादी नेतृत्वले शान्ति प्रक्रियामा आएपछि पनि युद्धकालीन सोचले काम गरेको आरोप पनि शर्माले लगाएका छन् । उनले भनेका छन्, ‘राष्ट्रिय सहमतिमा ओर्लिंदा त्यसमा सहभागी समूह र शक्तिलाई पार्टीमा कसरी संगठित र रुपान्तरित गर्ने भन्ने अहम् प्रश्न थियो । त्यसका लागि सोच, योजनालगायतका युद्धकालीन कमाण्ड प्रणालीलाई लोकतान्त्रिक संगठनात्मक प्रणालीमा रुपान्तरण आवश्यक थियो । तर, संगठनात्मक संरचना र नेतृत्व प्रणालीमा युद्धकालीन सोचकै निरन्तरता रह्यो ।’

प्रस्तावमा उनले पार्टीभित्रका समस्या शीर्षकमा नौवटा बुँदा राखेका छन् । उनले ६ नम्बर बुँदामा भनेका छन्, ‘विधि, पद्धतिभित्र सञ्चालित सही आचरणयुक्त पार्टी बनाऔँ र चलाऔँ भन्दा डर मान्नुपर्ने, धक मान्नुपर्ने, लाञ्छित हुनुपर्ने अवस्था सिर्जना गरियो । अझ थप दुरुत्साहित गर्न राज्यशक्तिको समेत दुरुपयोग भएको आभाष भयो ।’

पार्टी निमार्णका लागि अबको कार्यनीति भन्ने शीर्षकमा संविधानले परिकल्पना गरेको समाजवादउन्मुख अर्थव्यवस्था र गन्तव्य परिभाषित गर्नु आजको मुख्य कार्यभार भएको उनले उल्लेख गरेका छन् । साढे चार दशकदेखि राज्यले अख्तियार गर्दै आएको नवउदारवादी अर्थतन्त्रबारे पार्टीको स्पष्ट धारणा आवश्यक रहेको उनको भनाइ छ । ुएकातर्फ नवउदारवादी पुँजीवाद लागू गरिरहनु र अर्कोतर्फ समाजवादको पक्षपोषण गरिरहनु कुनै पनि अर्थमा तालमेलयुक्त देखिँदैन । त्यसबारे स्पष्ट हुन जरुरी छ,ु शर्माको प्रस्ताव छ ।

अध्यक्ष प्रचण्डको कार्यशैलीप्रति असन्तुष्टि राख्दै आएका शर्माले नेतृत्व हस्तान्तरणको कुरासमेत उठाएका छन् ।

नेतृत्वबारे शीर्षकमा उनले मार्क्स, एंगेल्स र लेनिनका पनि कमी कमजोरी भएको उल्लेख गरेका छन् । स्टालिनका ३० प्रतिशत कमजोरी भएको माओले भनेको पनि उनले उल्लेख गरेका छन् । उनले प्रत्यक्ष रूपमा प्रचण्डले नेतृत्व छोड्नुपर्ने आफ्नो प्रस्तावमा उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘अध्यक्ष प्रचण्डको हालसम्मको योगदानलाई स्थापित गर्न बाँकी समय उहाँको भूमिकालाई सुनिश्चित गर्न वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित सांगठनिक क्षेत्रको भूमिका उहाँले चाहेको व्यक्तिलाई हस्तान्तरण गर्ने वा प्रचण्डको संरक्षकको भूमिका रही वैचारिक प्राधिकरण र सत्ताको नेतृत्व गर्ने ।’

उनले अहिले भएका २१ जना पदाधिकारीहरू सल्लाहकारको भूमिकामा रहेर विभागीय काम, अनुगमन र मूल्याङ्कन, स्कुलिङ, प्रशिक्षण गर्ने र तेस्रो तहका युवाहरूलाई कार्यकारी सांगठनिक नेतृत्व हस्तान्तरण गर्ने अथवा अहिलेको केन्द्रीय कमिटी भंग गरी प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक कमिटी बनाई महाधिवेशनमार्फत प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्ने गरी मिति तोक्नुपर्ने प्रस्ताव गरेका छन् ।

शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै ग्रान्ड डिजाइनमा आफूविरुद्ध षड्यन्त्र गरेको आरोप लगाएका छन् । शर्माले पार्टी फुटाउँदै छ भनेर प्रचार गरी अध्यक्ष प्रचण्डले कार्यकर्ता पंक्तिमा भ्रम र त्रास सिर्जना गराएको बताएका छन् ।

२६ साउनमा पार्टीको स्थायी कमिटी बैठकमा शर्माले राखेको लिखित मतमा उक्त प्रसंग उठाएका हुन् । शर्माले आफूविरुद्ध खुमलटारबाट षड्यन्त्र सुरु भएको र बालुटावर पुगेपछि तीव्र भएको दाबी गरेका छन् । उनले भनेका छन्, ‘खुमलटारबाट एमालेमा जाँदैछ भनेर सुरु गरिएको प्रचारबाजीलाई बालुवाटार पुगेपछि तीव्रता दिइयो । उक्त प्रचारबाजीलाई मद्दत पुग्ने गरी पोखरामा आइपुग्दा मूल नेतृत्वले नै पार्टी फुटतिर उन्मुख छ, कसलाई साथ भन्दै कार्यक्रम हलमा हुटिङ गराएपछि सुन्नेहरूलाई पार्टी फुट्ने पक्कापक्की भयो भन्ने लाग्यो ।’

त्यसैगरी, आफूविरुद्ध उठेका प्रश्नबाट पन्छिन प्रचण्डले आफ्नाविरुद्ध हल्ला गराएको पनि शर्माले दाबी गरेका छन् । उनले भनेका छन्, ‘मुल नेतृत्वबाटै यस प्रकारको गतिविधि हुनुको पछाडि केही प्रश्नहरू छन् । ती प्रश्नहरूको जवाफ दिने झन्झटतिर लाग्नुभन्दा आमपंक्तिलाई तरंगित पार्ने विषय हालिदिएर ध्यान अर्कैतिर मोड्ने उद्देश्य रहेको छ ।’