काभा वुमन्स भलिबल नेसन्स लिगमा नेपाल उपविजेता
काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) वुमन्स भलिबल नेसन्स लिगमा नेपाल उपविजेता बनेको छ । उपाधिको लागि भएको फाइनल खेलमा नेपाल छिमेकी भारतसँग ३–२ को सेटमा पराजित भएको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा निर्णायक पाँचौ सेटमा नेपालले कमजोर खेल खेल्दा उपविजेतामै सीमित बन्यो। त्यसअघि भने नेपालले उत्कृष्ट खेल देखायो।
पहिलो सेट नेपालले २५–२३ जितेको थियो। पहिलो सेटमा नेपालले २०–२३ ले पछि परेको अवस्था उल्टाउँदै लगातार पाँच अंक ल्याएर जितेको थियो ।
दोस्रो सेटमा नेपाल २५–१४ ले पराजित भयो । नेपालले दोस्रो खेल हारेसँगै खेल १–१ को अवस्थामा आयो।
तेस्रो खेलमा नेपालले फेरि२५–२२ ले जितेर २–१ को अग्रता लियो।
तर चौथो खेलमा भारतले पुनरागमन गर्यो। २५–२१ ले भारतले सेट जितेपछि खेल पाँचौ सेटमा पुग्यो। पाँचौं सेटमा नेपाल १५–५ ले हार्यो।
भारतलाई पराजित गर्दै ऐतिहासिक उपाधि जित्ने अवसर नेपालले गुमायो। त्यसो त नेपालले लिग चरणको खेलमा भारतलाई हराउँदै इतिहास बनायो। अन्तर्राष्ट्रिय भलिबल खेल्न थालेको ३७ वर्षको इतिहासमा नेपाली महिला टोलीले भारतमाथि निकालेको सो पहिलो जित थियो।
प्रतिक्रिया दिनुहोस्: