Bagmati Samachar Logo

काभा महिला भलिबलमा नेपालले भारतमाथि ऐतिहासिक जित

काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगमा नेपालले भारतमाथि ऐतिहासिक जित हाँसिल गरेको छ । शनिबार त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा भएको खेलमा नेपालले ३–२ ले खेल जितेको हो । यो महिला भलिबलमा भारतमाथि नेपालको पहिलो जित हो ।

नेपालले पहिलो, तेस्रो र पाँचौँ सेटमा जित हात पारेको थियो । नेपालले भारतलाई २५–१८, १२–२५, २५–१७, १८–२५, १५१३ पाखा लगाएको हो । नेपालले पहिलोपटक भारतमाथि जित हात पारेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली टिमलाई बधाई दिएका छन् ।

महिला भलिबलमा दक्षिण एसियाकै बलियो टिम भारतलाई नेपालले हालसम्म हराउन सकेको थिएन । पाँच वर्षअघि भएको १३औँ दक्षिण एसियाली खेलकुदको फाइनलमा नेपालले भारतको सामना गरेको थियो । जुन खेलमा नेपालले भारतलाई टक्कर दिएको थियो । तर, पाँचौँ तथा निर्णायक सेटमा नेपाल पराजित हुँदै भारतलाई उपाधि सुम्पिएको थियो ।

शनिबार भने पाँचै सेटमा नेपालले सुरुदेखि नै अग्रसरता लिएर जितसम्म पुग्यो । खेलअघि नै नेपाली महिला टिमकी कप्तान अरुणा शाही यसपटक तयारी राम्रो रहेकाले उपाधि नै हात पार्ने दाबी गरेकी थिइन् ।

‘यसपटक तयारी राम्रो गरेका छौँ । भारतलाई हराउने मात्रै होइन, उपाधि नै जित्न चाहन्छौँ,’ शाहीले पत्रकार सम्मेलनमा भनेकी थिइन् । सिनियर र युवा खेलाडी टिममा रहेकाले नतिजा राम्रो आउने शाहीको दाबी छ । नेपालले पहिलो खेलमा श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेर प्रतियोगिताको सुरुवात गरेको छ ।

भारतले सुरुवाती दुवै खेल जितेको छ । भारतले यसअघि पहिलो खेलमा इरानलाई ३–० र दोस्रो खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित पराजित गरेको थियो । नेपालले भने पहिलो खेलमा श्रीलंकालाई ३–० को सोझो सेटमा हराएको थियो ।