प्रधानमन्त्रीमा ओलीकाे दाबी पेस
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरेपछि ओलीले कांग्रेसको समर्थनमा शुक्रबार नै दाबी पेस गरेका छन् ।
शुक्रबार साँझ सभापति शेरबहादुर देउवालाई साथ लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका ओलीले कांग्रेसका ८८ र एमालेका ७७ गरी १६५ सांसदको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् ।
ओलीले कांग्रेस र एमालेको मात्रै हस्ताक्षर लिएर प्रधानमन्त्रीमा दाबी पेस गरेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए ।
ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरेपनि प्रधानमन्त्री कहिले गर्ने भन्ने राष्ट्रपति पौडेलको निर्णयमा निर्भर हुने छ । शुक्रबार प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत गुमाएपछि नयाँ सरकारको ढोका खुलेको थियो । प्रचण्डले राखेको विश्वासका मतको प्रस्ताव प्रतिनिधिसभाबाट अस्वीकृत भएपछि संसद् सचिवालयले दाहालले विश्वासको मत लिन नसकेको जानकारी राष्ट्रपति कार्यालयलाई गराएको थियो ।
राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेपछि ओलीको नेतृत्वमा सरकार बन्ने बाटो खुलेको थियो ।
संविधानको धारा ७६ (२) मा राष्ट्रपतिले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था छ ।
जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टीपनि कांग्रेस एमालेको गठबन्धनमा सहभागी भएका भएपनि उनीहरुको हस्ताक्षर नै नलिएर ओली शितल निवास पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्: