Bagmati Samachar Logo

नारायणगढ–मुग्लिन सडकखण्डकाे सिमलताल पहिरोमा परेर दुई यात्रु बस बगे

काठमाडौं । नारायणगढ मुग्लिन सडकको सिमलतालमा आज बिहान पहिरोमा परेर दुईवटा यात्रुवाहक बस बगेको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

सिमलतालमा दुईवटा बस पहिरोमा परेर बगेको भन्ने जानकारी तीन जना यात्रुहरुले दिएको प्रहरीले जनाएको छ । एउटा बसको केही भाग मात्र नदिमा देखिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले बताए । एउटा बस काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स रहेको त्यहि बसबाट हाम फालेका ३ यात्रुले आफूहरुलाई जानकारी दिएको डीएसपी रिजाल बताए ।

सिमलतालमा बगेका दुई बसमध्ये वीरगन्जबाट काठमाडौँ गइरहेको एन्जल बसमा २४ जना र काठमाडौंबाट गौर आइरहेको गणपति डिलक्समा ४१ जना यात्रु रहेका छन् ।

त्यसैगरी सोही सडक खण्डको १७ किलोमा बिहान साढे तीन बजे आसपासमा खसेको पहिरोबाट आएको ढुंगाले लागेर अर्को बसका चालक मेघनाथ विकको निधन भएको छ । बुटवलबाट काठमाडौं जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बसलाई ढुंगाले लाग्दा गम्भीर घाइते भएका नवलपरासीका मेघनाथ विकको उपचारका क्रममा चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा निधन भएको डीएसपी रिजालले बताए ।

थप विवरण आउनु बाँकि छ ।