प्रचण्डले गरे बाँकी रहेका सत्तारुढ दलका नेताहरूसँग छलफल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तागठबन्धनमा बाँकी रहेका दलका नेताहरूसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले शुक्रबार सिंहदरबारमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मान्ति नेता झलनाथ खनाल, रास्वपा सभापति थत उपप्रधानमन्त्री रवि लामिछाने र जनमत पार्टीका अध्यक्ष सीके राउतसँग छलफल गरेका हुन् ।
एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्रीले यही २८ असारमा विश्वासको मत लिनका लागि संसद सचिवालयमा पत्र पठाइसकेका छन् । त्यही विषयमा उनीहरूबीच छलफल भएको हो ।
छलफलपछि नेकपा एसका अध्यक्ष नेपालले आफूहरू कांग्रेस र एमालेले बनाएको नयाँ समीकरणमा समावेश नहुने बताएका छन् । उनले नयाँ समीकरण षड्यन्त्रमुलक ढंगलले आएका बताएका छन् । उनले कांग्रेस र एमालेले समीकरण बनाउने सहमति गरेपछि आफूले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेको भए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भने कुनै छलफल नभएको बताएका छन् ।
यस्तै बैठकपछि रास्वपा सभापति तथा उपप्रधानमन्त्री लामिछानेले प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिने विषयमा पार्टीबाट निर्णय गरिने बताएका छन् । रास्वपाका मन्त्रीहरूले बिहीबार राजीनामा दिने तयारी गरे पनि प्रधानमन्त्रीसँगको छलफलपछि राजीनामा दिएका थिएनन् । राजीनामापत्र बोकेर बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरू राजीनामा नदिई फर्केका थिए ।
सत्तागठबन्धनबाट एमाले र जसपा बाहिरिएको छ ।
प्रतिक्रिया दिनुहोस्: