Bagmati Samachar Logo

मनसुनको सुरुवातमै विपद् : १६ जनाको मृत्यु, २ बेपत्ता

काठमाडौं । देशभर मनसुन फैलिएको तीन दिन मात्र भएको छ । मनसुनजन्य विपद्ले देशभर पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुधबार साँझसम्म देशभरका विभिन्न स्थानमा पहिरो, बाढी र चट्यांगमा परी १६ जनाको मृत्यु भएको हो । पछिल्लो २४ घण्टामा विपद्का ४४ वटा घटना भएका छन् । यो अवधिमा २९ जिल्ला प्रभावित बनेका छन् । क्षतिको अझै पूरा विवरणहरू आइसकेका छैनन् । राहत तथा उद्धारको काम जारी रहेको प्राधिकरणले जनाएको छ ।

ओखलढुंगाको चिसंखु गाउँपालिकामा एक गोठ भत्किँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । पहिरोले सबैभन्दा धेरै जनधनको क्षति लमजुङमा भएको छ । क्व्होलासाथार गाउँपालिका ३ मा तीनवटा घर पहिरो पुरिँदान चार जनाको मृत्यु भएको छ । यहाँ एक जना घाइते भएका छन् । यस्तै लमजुङकै दोर्दी गाउँपालिका ९ धैरेनीमा पहिरोले घर पुरिँदा एक जनको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

प्राधिकरणका अनुसार कास्कीको पोखरा महानगरपालिका २७ आरुपाटामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । यस्तै कास्कीकै मादी गाउँपालिका ५ चितेपातीमा पहिरोबाट एक जनाको मृत्यु भएको छ ।

उता मोरङको सुन्दरहरैचा ५ गौशालामा बाढीका कारण एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । प्राधिरणका अनुसार यहाँ एक जना घाइते भएका छन् ।

झापामा चट्यांग लागेर दुई जनाको मृत्यु भएको छ । गौरीगंज गाउँपालिका ३ ठेकिटोला र कमल गाउँपालिका २ समाइगढमा एक जनाको चट्यांग लागेर मृत्यु भएको छ । यस्तै सुनसरीको रामधुनीमा चट्यांग लागेर एक जनाको मृत्यु भएको छ । उता रोल्पाको सुनछहारी गाउँपालिका ३ बाहिरी गाममा दुई जनाको चट्यांग लागेर मृत्यु भएको छ ।

यस्तै कैलालीको जोशीपुर र धनगढीमा चट्यांग लागेर दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

वर्षापछि विराटनगर विमानस्थल नै जलमग्न भएपछि विमानस्थल बन्द भएको छ भने पहिरोले मुग्लिन नारायणगढ सडक अवरोध भएको छ ।

यसैबीच नेपाल रेडक्रस सोसाइटीले देशभर भइरहेको बाढी पहिरोलगायतका विपद्मा सरकारका निकायसँग सहकार्य गर्दै विपद् प्रतिकार्यमा खटिन सम्पूर्ण रेडक्रसकर्मीलाई अनुरोध गरेको छ । यस वर्ष विगतका वर्षभन्दा वर्षाको सम्भावना उच्च भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । रेडक्रसले देशैभरका आपत्कालीन कार्य सञ्चालन केन्द्र सक्रिय बनाई समुदायमा विपद्का कारण आइपर्न सक्ने विषम परिस्थितिको आकलन गरी पूर्वतयारीसहित प्रतिकार्यका लागि तयार रहन आग्रह गरेको हो ।

रेडक्रसका अध्यक्ष प्रा सुदर्शनप्रसाद नेपालले बुधबार विज्ञप्ति जारी गरी प्रभावित जिल्लामा उद्धार तथा सहायताका सामग्री वितरणमा संलग्न हुनसमेत सोसाइटीका प्रदेश, जिल्ला र उपशाखा सबैमा अनुरोध गरेका छन् ।