प्रकाश होटलको भान्सा फोहोर, छैन काजगपत्र
काठमाडौं । हेटौंडा–१० टिसिएन रोडमा रहेको प्रकाश होटलको भान्सा फोहोर भएपछि सुधार्नका लागि दुई साताको समय दिइएको छ ।
आईबार हेटौंडा उपमहानगरको बजार अनुगमन समितिले होटलको किचेनको अवस्था निरीक्षण गर्दै सुधार गर्नका लागि १५ दिनको समय दिएको हो ।
भान्सामा फोहर रहेको, सरसफाईमा ध्यान नदिएको, फ्रिजको अवस्था बिग्रीएको, म्याद गुज्रिएको खानेकुुरा प्रयोग गरेको भन्दै अनुगमन टोलीले सुधारका लागि १५ दिनको समय दिएको हो । होटलको नाम अनुसार भान्साको अवस्था नरहेको पाईएको समितिका सदस्य एवम् हेटौंडा उपमहानगरपालिका खाद्य प्राबिधिक एलिना न्यौपानेले बताइन् ।
थ्री–स्टार होटलको रुपमा लामो समयदेखि हेटौंडामा सेवा दिँदै आएको प्रकाशलाई थ्री–स्टारको मान्यता दिएको कागजात समेत नदेखाएको भन्दै टोलीले तीन दिनभित्र सरकारी कागजातसहित उपस्थित हुन भनेको छ । लामो समय देखि थ्री–स्टारको मान्यतामा उपभोक्त सँग सेवासुबिधा बापत पैसा असुल गरेपनि अहिलेसम्म सरकारी मान्यताको कागजात देखाउन नसकेको भन्दै अनुगमन टोलीले कागजात पेश गर्न समय दिएको हो ।
हेटौंडा उपमहानगरपालिका १ नम्बर वडाका अध्यक्ष एवम् अनुगमन समितिका संयोजक सबिन न्यौपानेको नेतृत्वमा गएको टोलीले हेटौंडा– ४ मा रहेको सामना होटलको पनि अनुगमन गरेको थियो । आइतबार बिहान दिएको खानामा बासी मासु परेको सूचना पछि टोली अनुगमनका लागि सामना पुगेको थियो । आन्तिरक मामिला तथा कानुन मन्त्रालयले गरेको बिपद्मा स्वयमसेवक व्यवस्थापन प्रणाली सम्बन्धी कार्यक्रममा सहभागीमध्य केहीलाई बासी गन्हाएको मटन परेको बताइएको थियो ।
सामनामा अनुगमनका क्रममा समान्य सुधार्न पर्ने कुराहरु देखिएको टोलीले जनाएको छ । केही सुधार्न पर्ने कुराहरु देखिएको थियो सुझाब दिएका छौं टोलीका सदस्य न्यौपानेले बताइन् ।
अनुगमन टोलीमा उपमहानगरका समाजिक बिकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिना, जिल्ला प्रशासन कार्यालयका सुरेश वाइबा, उपभोक्ता मञ्चका सरोज बिडारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका दिपक घिमिरे, मकवानपुर उद्योग बाणिज्य संघका पवन कार्की, उद्योग बाणिज्य कार्यालयका रमेश गोदार सहितको टोली दुबै होटलमा पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस्: