दुई वर्षपछि रास्वपाको अवस्था देखका महामन्त्री ढकालको निस्कर्ष पार्टीप्रति जनता निराश छन्
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकल ढकालले एकमहिने देश दौडाहाको क्रममा देखेको आफ्नो पार्टीको अवस्थाको बारेमा तयार पारेको प्रतिवेदन बुधबार पार्टी सभापति तथा उपप्रधानमन्त्री रवि लामिछानेलाई बुझाएका छन् । प्रतिवेदन बुझाइसकेपछि उनले भनेका छन्, ‘इन्तु परन्तु केही नभनी प्रदेश खारेज हुनुपर्छ ।’
आफूले ३ हजार जनासँग दोहोरो कुराकानी गरेर प्रतिवेदन तयार पारेको ढकालले जानकारी दिए । उनले अब त्यो प्रतिवेदन सभापतिले सार्वजनिक गर्नुपर्ने बताए । प्रतिवेदन बुझाइसकेपछि उनले भने, ‘सार्वजनिक गर्न सभापतिलाई आग्रह गरेको छु । यो कुरा कार्यकर्ता र मतदाताले थाहा पाउनुपर्छ । उहाँले सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।’
अबको दिनमा पार्टीले प्रदेश संरचना खारेज गर्नुपर्ने प्रत्यक्ष निर्वाचित कार्यकारीको बहस गर्नुपर्ने बताए । उनले भने, ‘जनताको माग प्रदेश होइन प्रशासन सुधार रहेछ । इन्तु परन्तु केही नभनी प्रदेश खारेज हुनुपर्छ ।’
पार्टीका संरचनाका बारेमा कठोर निर्णय लिनैपर्ने उनले बताए । उनले भने, ‘पार्टीप्रति जनता निराश छन् । घण्टी कालो देखिएको छ । मडारिएको बादल हटेपछि घण्टी निलो देखिन्छ ।’
उनले पार्टी सरकारमा रहँदाको औचित्य पुष्टि गर्नुपर्नेसमेत बताए । उनले भने, ‘आगामी हप्तामा मन्त्रीहरुको १०० दिनको समीक्षा गर्छौं । प्रत्यक्ष प्रषारण गर्ने छौँ ।’ उनले अगाडि थपे, ‘हामी सरकारमा गइसकेका छौँ ।जुन ढोकाबाट गयौँ त्यही ढोकाबाट निस्कन मिल्दैन, औचित्य पुष्टि हुनुपर्छ ।’
ढकालले आफूले भेटेका मानिसहरूसँगको कुराका आधारमा अहिलेको अवस्थामा राष्ट्रिय पार्टी बन्ने तर यही अवस्था रहे अझै तल जाने बुझेको बताए । उनले भने, ‘हामीलाई सुधार्ने प्रसस्त ठाउँ छ । हामीलाई पुराना दलको प्रवृत्ति छोएको छ । सुध्रने ठाउँ छ ।
अस्पताल लगेर उपचार गरिएन भने बिमार पार्टीलाई उपचार गर्न सक्छौँ । सर्जरी आवश्यक छ ।’
उनले निर्मम समीक्षा गर्ने प्रणाली अरु पार्टीमा नभएको उल्लेख गर्दै पार्टीको आदेश बमोजिम आफूले समीक्षा गरेको बताए । उनले भने, ‘यही तरिकाले पार्टी दुर्घटना उन्मुख छ भनेर जनताले भनेका छन् ।’
उनले बालेन, गोपी हमाललगायत स्वतन्त्रसँग मिल्नुपर्छ भन्ने फिडब्याक रहेको बताए । नभए पार्टी विस्तारै पतनउन्मुख हुने देखिएको बताए ।
प्रतिक्रिया दिनुहोस्: