नगरसभामा मेयर बालेनको शैलीप्रति उपमेयर सुनिता डंगोलको असन्तुष्टि
काठमाडौं । सोमबार महानगरले आगामी आर्थिक वर्षको बजेट सार्वजिक गर्न बसेको महानगरको अधिवेशनमा मेयर बालेन्द्र शाहको शैलीको शालिन तर कडारुपमा आलोचना गरीन् ।
अधिवेशनान दिएको अभिव्यक्तिले मेयर बालेन र उपमेयर सुनिताबीच यी दुई वर्षको सहकार्य सहितरिकाले नचलेको बुझ्न कठिन थिएन । दुई वर्षसम्म बालेनको कार्यशैलीबारे सार्वजनिक टिप्पणी नगरेकी डंगोल आज विस्फोटक रूपमा प्रस्तुत भइन् । जसले मेयर र उपमेयरबीच समन्वय नभएको स्पष्ट संकेत गरेको छ ।
मेयरको कसैको कुरा नसुन्ने र सामाजिक सञ्जालमार्फत जथाभावी बोल्ने शैलीले महानगरले गरेका राम्रा कामहरूलाई पनि विवादमा तान्यो ।
डंगोलले आफ्नो धारणा राख्ने क्रममा मेयर शाहको कार्यशैली र व्यवहारबारे भद्र ढंगले चर्को आलोचना मात्रै गरिनन् आगामी दिनमा यही शैली कायमै रहे सहकार्य ठीक ढंगले जान नसक्ने सन्देश पनि दिइन् । मेयरकै कार्यशैली र व्यवहारका कारण नगरसभामा ध्रुवीकरण भएको आशय व्यक्त गर्दै उनले भनिन्यो, ‘संसद होइन, नगरसभा हो । यहाँ सत्तापक्ष र प्रतिपक्ष हुँदैन । ध्रुवीकरण हुनु कदापी राम्रो सन्देश होइन ।’
उनले बालेनलाई लक्षित गर्दै अभिव्यक्ति दिँदा पदको गरिमा राख्न सक्नुपर्ने बताइन् । जथाभावी बोलेर समाजमा राजनीतिक अराजकता मच्चाउन नहुने पनि उनले बताइन् । खासमा मेयर शाहले विगतमा सामाजिक सञ्जालबाट ‘सिंहदरबार जलाउँछु ’ भनी दिएको अभिव्यक्तिप्रति आज नगरसभाको बैठकमा प्रश्न उठेको थियो ।
उपमेयर डंगोलले भनिन्, ‘सिंहदरबार जलाउँछु भन्नु गलत हो भने महानगर जलाउँछु भन्नु पनि गलत हो । जे मुखमा आयो त्यो बोल्न पाइँदैन । राजनीतिक अराजकता त्याग्नुपर्छ । कम्तीमा काठमाडौं महानगरपालिकाले देशभर उदाहरण दिनुपर्छ ।’
यतिमात्रै होइन उपमेयर डंगोलले घुमाउरो ढंगले मेयर शाहले आफूबाहेक अरुको अस्तित्व स्वीकार्न नसकेको आरोप पनि लगाइन् । सबैको भावना समेटेर काम गर्ने वातावरण बनाउनुपर्ने बताउँदै उनले एकअर्कालाई नकार्दै जाने हो भने विकास होइन, विनाश निम्तिने चेतावनीसमेत दिइन् ।
‘सहकार्य, समन्वय र सहअस्तित्वबिना काम गर्न सकिँदैन,’ उनले भनिन्,‘प्रमुखले उपप्रमुखको अस्तित्व नस्वीकार्ने, उपमेयरले वडाध्यक्षको र वडाध्यक्षले सदस्यको अस्तित्व नस्वीकारेर जाने हो भने यसले विकास होइन, विनाशतर्फ लग्छ ।’
डंगोलले आफ्नो पार्टी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समेत मेयरले ‘गाली’ गरेको प्रसंगबारे पनि मुख खोलिन् । ‘कहिले कुन नेतालाई गाली गरेको छ । कहिले के गरेको छ । यसरी विवाद सिर्जना गर्नु हुँदैन । पदको गरिमा राख्नुपर्छ ।’
‘मनमा जे जे आयो बोल्ने हो । कापोलकल्पित कुराहरूलाई आफ्नो अभिव्यक्तिका रूपमा अघि सार्ने हो भने त्यसले समाजमा अराजकता निम्त्याउँछ । त्यसले राजनीतिक अराजकता निम्त्याउँछ । राजनीतिक अराजकता निम्त्याउने कुरामा हामीले कदापी सहेर बस्नु हुँदैन।’ सुनिताले फेरि भनिन्, ‘त्यसकारण पदको मर्म बुझेर हामीले अभिव्यक्ति राख्नुपर्छ ।’
उनले फरक मतलाई पनि सबैले सम्मान गरेर अगाडि बढ्नुपर्ने बताइन् । राजनीतिमा युवा आउनुपर्ने उदाहरण आफूहरूले दिएको बताउँदै डंगोलले जिम्मेवारी पनि सम्झनुपर्ने बताइन् ।
स्वतन्त्र निर्वाचित मेयर शाहको कार्यशैलीबारे वडाध्यक्षहरूले सुरुदेखि नै आपत्ति जनाउँदै आएका थिए । उपमेयर डंगोलले उनलाई साथ दिएको चर्चा चल्ने गरेको थियो । हुन पनि अहिलेसम्म यी दुईबीच कुनै किसिमको विवाद देखिनेगरी सतहमा आएको थिएन । तर, सोमबार महानगरको १५औँ नगरसभामा अरुले सोचे भन्दा फरक तरिकाले उपमेयर प्रस्तुत भइन् ।
नगरसभा सदस्य अनिता कार्की ढोलीले ‘मेयरले सिंहदरबार जलाउँछु भन्दा भोलि महानगरवासीले मेयरको दरबार जलाए भने के हुन्छ ’ भनेर प्रश्न गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्: