Bagmati Samachar Logo

हामीसँग जादुवाला नम्बर छ, अनेक गरेर मिलाइन्छ पूरै अवधि प्रधानमन्त्री हुन्छु : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू पाँचै वर्ष प्रधानमन्त्री बन्ने बताएका छन् । शनिबार तामाङ राष्ट्रिय मुक्ति मोर्चाको ७औँ राष्ट्रिय महाधिवेशन उद्घाटन गदै उनले सानो संख्या छ भनेर चिन्ता गर्नुनपर्ने बताए । उनले भने, ‘सजिलो छैन हामीलाई हटाउन, इतिहास, मुद्दा र हाम्रो जादुवाला नम्बर छ । थोरै छ भनेर चिन्ता गर्नुपर्ने अवस्था छैन । जादुले अनेक गरेर मिलाइहाल्छ ।’

उनले तरिका मिले पूरै अवधि प्रधानमन्त्री हुने बताए । उनले भने, ‘मैले जे देखेको छु, तरिका मिल्यो भने पूरै अवधि बसिन्छ । ढुक्कसँग काम गरे हुन्छ ।’

उनले केही दिनपछि सरकार जाँदै छ भनेर पूरै कन्फ्युजन बनाउने कोसिस भएको भन्दै त्यसमा कुनै सत्यता नभएको बताए । उनले आफू प्रधानमन्त्री भएदेखि नै यसप्रकारको हल्ला चलेको बताए, उनले भने, ‘जति दिन बसिन्छ, भ्रष्टाचारविरुद्धका गतिविधि गरेर, सामाजिक न्याय र जनताको सेवा गरेर डेढ वर्ष भयो बसेकै छु ।’

प्रचण्डको भनाइ

अब हामी छिट्टै केन्द्रीय समितिको बैठक बसेर पार्टीबाट पनि अभियानात्मक रुपले लैजाने । अब फुर्सद कसैलाई पनि नदिने विचार छ है मेरो । मलाई अब धेरै समय छ जस्तो पनि लाग्दैन । त्यसकारण अव यो अन्तिम समयसम्म साथीहरु, नेताहरु कार्यकर्ताहरु कसैलाई पनि फुर्सद नदिने आत्मनिर्भर अर्थतन्त्रका निम्ति, उत्पादनको निम्ति, रोजगारीको निम्ति, जातीय मुक्तिको निम्ति यी सबै विषयका विभिन्न कहिले सांस्कृतिक अभियान, कहिले उत्पादनको अभियान, कहिले प्रचारको अभियान आदि इत्यादि गर्दै हामी अभियानात्मक रुपमा जाने सोचेका छौं । र तपाईंहरुले पनि जिल्ला जिल्लामा अभियान बनाएर जानुस ।

मैले पार्टीमा पनि यो सोच्दैछु । र अहिलेको नयाँ परिस्थितिमा हुन त मिडियामा आजकाल यो सोसल मिडियाको जमाना छ । आईटीको जमाना त छँदैछ । त्यसले मानिसको दिमागभित्र विभिन्न खालको विचारहरु हुल्दिने गरेको छ । राम्राभन्दा नराम्रा, सकारात्मकभन्दा नकारात्मक कुराहरु हाल्दिने गरेको छ । त्यसले प्रभाव पार्ने गरेको छ । त्यसलाई चिर्नका लागि हामी जनताको बीचमा जाने, हामीले पनि त्यसलाई सकारात्मक उद्देश्यको निम्ति सोसल मिडियालाई, आईटीलाई प्रयोग गर्ने, आईटी दशक सररकारबाट घोषणा गरिएको छ । कृषि दशक भनेर घोषणा गरिएको छ । यो सबै उत्पादन र रोजगारीको नयाँ परिस्थिति बनाउने कुरा गरिएको छ । त्यसका निम्ति तपाईहरुले पनि योजना र अभियान बनाउनु होला । पार्टीको पूरै साथ रहने विश्वासपनि दिलाउन चाहन्छु ।

अन्तिममा हामीले यो बाहिर भनेजस्तो सरकार कति दिन होला रु चल्छ कि चल्दैन रु विभिन्न कुराहरु आउँछन् । अर्कोले कुरा गर्दैछ रे–केही दिनपछि सरकार जाँदैछ रे भन्ने र तपाईं हाम्रो दिमागमा कन्फ्युजन क्रियट गर्ने पूरै कोसिस भएको छ । यो भन्न थालेको म प्रधानमन्त्री भएको मैले नै भन्थे–सायद मलाई सबै मिलेर धेरै दिन बस्न दिन्नन् होला । अब जति दिन बसिन्छ, भ्रष्टाचारको विरुद्ध पनि गतिविधि गर्ने हो । जतिदिन बसिन्छ, सामाजिक न्यायको निम्ति पनि काम गर्ने हो । जति दिन बसिन्छ, समृद्धिको निम्ति पनि काम गर्ने हो भनेको अहिले डेढ वर्ष भयो । तर म बसेकै छु । र मैले जे देखेको छु सबै परिस्थिति । तरिका मिल्यो भने पूरै अवधि बसिन्छ । ढुक्क भएर काम गरे हुन्छ । सजिलो छैन हामीलाई । हामीलाई हटाउन सजिलो छैन । इतिहासका कारणले, मुद्दाका कारणले, आन्दोलनको कारणले र हाम्रो जादु नम्बरको कारणले पनि । जादु नम्बर छ हाम्रो । थोरै छ भनेर चिन्ता गर्नुपर्ने छैन । जादुवाला नम्बर छ । त्यो जादुले अनेक गरेर मिलाई हाल्छ । त्यसकारण त्यहाँ चिन्ता लिनुपर्ने छैन ।

तैपनि हामीले राजनीतिक दलसँग जे सम्झदारी गरेका छौं । त्यो समझदारीप्रति हामीले जहिले पनि इमानदारिता अपनाएका छौं । हामी इमानदारपुर्वक नै भएका समझदारी कार्यान्वयन गर्नेछौं । त्यसकारण आजै केही हुन्छ कि, भोलि केही हुन्छ कि भन्ने कुरा बेकारको कुरा हो । त्यतापट्टी तपार्इंहरुले दिमाग लानै पर्दैन । तपाईहरु ढुक्कसँग आफनो काम गर्नुहोला ।