Swornakshar Logo

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालको लगातार दोस्रो जित, सेमिफाइनल नजिक

काठमाडौं । किक्रेटमा नेपालको लगातार दोस्रो जितका साथ एसीसी प्रिमियर कप टी २० प्रतियोगिताको सेमिफाइनल नजिक पुगेको छ । शनिबार ओमानको अल अमिरात मैदानमा नेपालले कतारलाई ३२ रनले पराजित गरेको हो । २११ रनको लक्ष्य पछ्याएको कतारले ९ विकेटमा १७८ रन मात्र बनायो ।

यसअघि नेपालले शुक्रबार मलेसियालाई पराजित गरेको थियो । अंक तालिकामा नेपालको चार अंक भएको छ । अब नेपालले साउदी अरब र हङकङसँग खेल्न बाँकी छ । यी दुईमध्ये एक खेलमा जिते पनि नेपाल सेमिफाइनल पुग्नेछ । यद्यपि अहिले सबै टिमका लागि सेमिफाइनलको ढोका खुला नै छ ।

शनिबार अल अमिरात मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङको निर्णय लिएका थिए । दीपेन्द्रसिंह ऐरीले एकै ओभरमा छ छक्का प्रहार गर्दै नेपालको स्कोर ७ विकेटमा २१० पुर्‍याएका थिए । यस्तै आसिफ शेखले ५२ र कुशल मल्लले ३५ रनको योगदान दिए ।

दीपेन्द्रले बलिङतर्फ पनि उत्कृष्ट प्रदर्शन गरे । उनले चार ओभरमा ३४ रन दिएर २ विकेट लिए । यस्तै उनले एक रनआउट पनि गरेका थिए । दीपेन्द्रले अलराउन्ड प्रदर्शन गरेपछि नेपालको सहज जित भएको हो ।