सुनसरीका कुटपिटको घटना पाँच पालिकामा कर्फ्यु लगाउनुपर्ने गरी बढ्यो
काठमाडौ । सुनसरी हरिनगर गाउँपालिका स्थित बालकृष्ण मावि बाहिर बिहीबार एसईई परीक्षा दिन आएकी आफ्नी बहिनीलाई लिन आएका जीवन मेहतालाई एक समूहले आक्रमण गरेको थियो । ठूलो सङ्ख्याको समूहले मेहतालाई आक्रमण गरेका थिए । शुक्रबार (आज) मेहेताको पक्षबाट प्रतिशोध हुन सक्ने अनुमानमा प्रहरीले सुरक्षा सतर्कता बढाएको थियो । धार्मिक विषयमा जे पायो त्यही बोलेपछि आक्रमण भएको भनेपछि प्रशासन पनि चनाखो बनेको थियो ।
शुक्रबार एसईई परीक्षा सुरु हुँदै गर्दा थोरैथोरै गर्दै विद्यालयछेउ मान्छेहरूको भिड सुरु भयो । केही नाराहरू पनि लाग्न थाले । जुन, साम्प्रदायिकता भड्काउने किसिमका थिए ।
कुटपिटको घटना शुक्रबार साम्प्रदायिक बन्यो । प्रहरीले आफ्नो माथिल्लो तहमा सम्पर्क गरेपछि प्रशासनले आजै १२ बजे देखि निषेधाज्ञा लगायो । हरिनगर गाउँपालिकाको सबै क्षेत्र र देवानगञ्ज गाउँपालिकाको वडा नम्बर १ र ७ मा प्रशासनले निषेधाज्ञा लगाएको थियो । निषेधाज्ञापछि पनि भिड जम्मा हुने क्रम भने रोकिएन । प्रहरीले भिड बढ्दै गएपछि कहीबेर रोक्न खोज्यो । तर, स्थिति थप उग्र बन्दै गयो । र, नजिकका पालिकाका स्थानीयहरू समेत रमिता हेर्न झडप स्थलतर्फ लाग्न थाले । त्यसपछि सुनसरी प्रशासनले अर्को व्यवस्था नहुन्जेलसम्म कर्फ्यु लगायो ।
दुई पालिकामा रहेको यो विषय यति बेलासम्म आई पुग्दा सुनसरीका पाँचवटा पालिकामा फैलिइसकेको छ। कर्फ्यु भनेर प्रशासनले हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका, इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोशी गाउँपालिकामा आदेश लागू हुने जनायो ।
कर्फ्यु आदेशमा अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी बाहेक सामूहिक रूपमा गरिने सामाजिक, धार्मिक, राजनीतिक सभा, र्याली, भेला प्रदर्शनलगायतका कुनै पनि कार्यक्रमहरू नगर्नरनगराउन भनिएको छ ।
साम्प्रदायिक बन्ने डर ?
मेहतालाई कुटपिट गर्नेहरूलाई कानुनी कारबाही गर्नुपर्ने माग छ । केही समूहले भने त्यही मागलाई साम्प्रदायिक विषय बनाउन खोजेको स्थानीयहरूको बुझाइ छ । दुई फरक धार्मिक समुदायको बसोबास रहेको सो क्षेत्रमा सद्भाव कायम राख्न स्थानीय राजनीतिज्ञहरूले अपिल गरेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी विपिन रेग्मीले दिनभरको झडपमा १९ प्रहरी र १० जना सर्वसाधारण घाइते भएको बाताएका छन् । दिनभरको सो घटना नियन्त्रणमा प्रहरीले ८० राउन्ड हवाई फायर र ४० सेल अश्रु ग्यास प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्: