Bagmati Samachar Logo

समाजवादलाई तीव्र गतिमा अगाडि बढाउन सम्भावना भएको देश नेपाल नै हो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादलाई अघि बढाउन नेपाल उर्वर भूमि रहेको बताएका छन् । मंगलबार काठमाडौँमा समाजवादी मोर्चाले गरेको छलफल कार्यक्रममा बोल्दै प्रचण्डले हालको संविधानमा समाजवाद र पुँजीवादको समान विशेषता रहेको बताए ।

उनले भने, ‘यो संविधान पूर्ण भनेर हामीले भनेका छैनौँ, यो सम्झौताकै दस्ताबेज हो । त्यहाँ थुप्रै पुँजीवादका विशेषताहरू पनि छन् । थुप्रै समाजवादका विशेषताहरू पनि छन् । समाजवादी धारा र प्रवृत्तिका पार्टीहरू मिलेर जाँदा देश समाजवादतर्फ अग्रसर हुँदै जान्छ । पुँजीवादी र प्रतिक्रियावादीहरुले जित्दै गए भने देशमा प्रतिगामी खतरा पनि हुँदै जाने सम्भावना छ । त्यस कारण हाम्रो जिम्मेवारी छ कि यो संविधानलाई बढी भन्दा बढी प्रगतिशील धारातर्फ अगाडि बढाउनका लागि हामीले आपसी एकतालाई सुदृढ गर्दै इतिहासका अनुभूतिबाट शिक्षा लिँदै अगाडि जान जरुरी छ ।’

प्रचण्डले अगाडि भने, ‘नेपाल मात्रै अहिले त्यस्तो परिस्थितिमा छ, यहाँका समाजवादीहरू, यहाँका देशभक्तहरू अझै पनि एक ठाउँमा केन्द्रित हुने हो भने समाजवादलाई तीव्र गतिमा अगाडि बढाउन सम्भावना भएको देश नेपाल नै हो । त्यस कारण मैले यीनै कुरालाई आत्मसाथ गरेर नै केही जोखिम भएपनि, केही चुनौती भएपनि देशभक्त बामपन्थीहरुलाई एक ठाउँमा ल्याउने जमर्को गरेकै हो ।’

उनले समाजवादको जन्म सडकबाट हुने बताउँदै जनता सडकमा हुने र पहिलो प्राथमिकता सडकले नै पाउनुपर्ने बताए । जनताबाट समाजवाद जन्मिने बताउँदै सडकबाट समाजवाद जन्माउनका लागि सबै तयार हुनुपर्नेमा जोड दिए ।