Bagmati Samachar Logo

कर्णालीमा एमाले–माओवादीबीच कुरा मिलेन, प्रदेशसभा बैठक स्थगित

काठमाडौं । कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ ।

मंगलबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने कार्यसूची थियो । तर, एमाले र माओवादी केन्द्रबीच कुरा नमिलेपछि प्रदेशसभा बैठक अन्तिममा स्थगित गरिएको हो ।

प्रदेशसभाको बैठक भोलि (बुधबार) दिउँसो ३ बजेका लागि बोलाइएको छ । सत्ता गठबन्धनमा कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेलाई दिने सहमति भएको छ । तर, माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका राजकुमार शर्मा एमालेलाई नेतृत्व छोड्न तयार भएका छैनन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच कर्णाली सरकारको नेतृत्व एमालेले गर्ने सहमतिविपरीत मुख्यमन्त्री शर्माले प्रदेशसभाबाट विश्वासको मत लिने र सरकारको नेतृत्व नछोड्ने अडान लिएका छन् । मुख्यमन्त्री शर्माले कर्णालीमा माओवादी एमालेभन्दा ठूलो दल भएकाले नेतृत्व छोड्न नसकिने भनेर पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डको निर्देशनलाई पनि टेरेका छैनन् ।

यसअघि मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डले कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेलाई दिने सहमति भएकाले बाटो खोलिदिन मुख्यमन्त्री शर्मालाई निर्देशन दिएका थिए । तर, मुख्यमन्त्री शर्माले आफूले सरकारको नेतृत्व नछोड्ने बरु प्रदेशसभाबाट विश्वासको मत लिने जवाफ दिएका थिए ।

नेतृत्व छोड्न नमानेपछि कर्णालीको समस्या समाधान गर्न भन्दै प्रधानमन्त्री प्रचण्डले कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई सुर्खेत पठाएका थिए । नेता शाहीले मुख्यमन्त्री शर्मा, माओवादी केन्द्रका सांसद र एमालेसँग पटक(पटक छलफल गरे पनि सहमति भने जुट्न सकेन । मुख्यमन्त्री शर्माले आफूले सरकारको नेतृत्व कुनै पनि हालतमा नछोड्ने अडान कायमै राखेका छन् ।