Bagmati Samachar Logo

बागमतीमा मन्त्रिपरिषद विस्तार, एमालेका चार मन्त्रीले लिए शपथ

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिएको दोस्रो दिन मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

मंगलबार एमालेले सिफारिस गरेका चार जनालाई मन्त्रीमा नियुक्त गरेर मुख्यमन्त्री जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । एमालेबाट केशव पोखरेल, प्रकाश श्रेष्ठ, रामेश्वर श्रेष्ठ र एकलाल श्रेष्ठ मन्त्री बनेका छन् ।

नवनियुक्त चारै जना मन्त्रीलाई प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । मुख्यमन्त्री जम्कट्टेलले पोखरेललाई वन तथा वातावरण, प्रकाशलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन, रामेश्वरलाई स्वास्थ्य र एकालाललाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

मन्त्रीको शपथ लिएकामध्ये प्रकाश मात्रै पहिलोपटक मन्त्री बनेका हुन् । अन्य तीनै जना यसअघि २५ पुस २०७९ मा मुख्यमन्त्री जम्कट्टेलकै नेतृत्वको सरकारमा मन्त्री बनेका थिए । यसअघि एमालेको नेतृत्व गर्दै संसदीय दलका नेता जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजनामन्त्री बनिसकेका छन् ।