कर्णालीमा विश्वासको मत लिनु एक दिन पहिला मुख्यमन्त्री एमालेलाइ छोड्न माओवादीमा सर्कुलर
काठमाडाैं । नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका राजकुमार शर्माले विश्वासको मत लिनु एक दिन पहिला माओवादीले एमालेलाई मुख्यमन्त्री दिन सर्कुलर गरेको छ । यो सँगै कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले पाएको छ । सत्तारुढ गठबन्धनको केन्द्रीय सहमति अनुसार पहिलो चरणमा कर्णालीको नेतृत्व एमालेलाई दिने सहमति भएको नेकपा माओवादी केन्द्रका प्रदेश इन्चार्ज कालिबहादुर मल्लले बताए ।
जब कि मुख्यमन्त्री शर्माले भोली विश्वासको मत लिने तयारी गरेका थिए । केन्द्रमा गठबन्धन फेरबदल भएपछि कर्णालीमा कांग्रेस सरकारबाट बाहिरीएको थियो । जसकारण भोली मुख्यमन्त्री शर्माले विश्वासको मत लिदै थिए ।
‘निर्णय भएर सर्कुलर पनि आइसकेको छ,’उनले भने, ‘निर्णय मान्नै पर्ने हुन्छ ।’ मुख्यमन्त्री राजकुमार शर्माले भने मंगलबार विश्वासको मत लिने तयारी गरेका थिए ।
माओवादीभित्र कर्णालीको नेतृत्व पार्टीले नै पाउनुपर्ने आवाज उठ्दै आएपनि अन्ततः एमालेलाई नै दिनेगरी केन्द्रमा सहमति भएको हो । तर यो सहमतिले माओवादीभित्र असन्तुष्टि भने बढ्नसक्ने नेताहरु बताउँछन् ।
सहमतिअनुसार माओवादीले बागमती र लुम्बिनी प्रदेशको मुख्यमन्त्री पाउने भएको छ । बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार विश्वासको मत पाइसकेका छन् भने लुम्बिनीमा हाल कांग्रेसको नेतृत्वमा सरकार छ । कांग्रेस नेतृत्वको सरकार ढलेपछि माओवादीको नेतृत्वमा नयाँ सरकार बनाउने गठबन्धनको तयारी छ ।
यसैगरी एमालेले कर्णालीबाहेक कोशी, गण्डकीमा पनि सरकारको नेतृत्व गर्नेछ। मधेसमा जसपा र सुदूरपश्चिममा नागरिक उन्मुक्तिले नेतृत्व पाउनेगरी गठबन्धनमा निर्णय भएको एक एमाले नेताले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्: