Bagmati Samachar Logo

दूरसञ्चार प्राधिकरणका दुई पूर्वअध्यक्षसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद प्रक्रियामा अनियमितता गरेको अभियोगसहित दूरसञ्चार प्राधिकरणका दुई पूर्वअध्यक्षसहित १९जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले दूरसञ्चार प्राधिकरणका दुईजना पूर्वअध्यक्ष, एकजना पूर्ववरिष्ठ निर्देशक, तीनजना बहालवाला निर्देशकहरूसहित २० जनाविरुद्ध ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दर्ता गरेको हो।

अख्तियारले प्राधिकरणका पूर्वअध्यक्षद्वय पूरुषोतम खनाल र दिगम्बर झाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको हो।

त्यसैगरी प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनालविरुद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ।

एमडीएमएस घोटाला प्रकरणमा प्राधिकरणका वर्तमान र उपनिर्देशकहरूविरद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता भएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए।

उपनिर्देशक मीनप्रसाद अर्याल, सहायक निर्देशक विनोदचन्द्र श्रेष्ठ, निर्देशक दीपेश आचार्य, उपनिर्देशक सुरेन्द्रलाल हाडा, सहायक निर्देशक रेवतीराम पन्थ, सहायक निर्देशक सन्दीप अधिकारी, सहायक निर्देशक कविन्द्र मल्ल, सहायक निर्देशक सूर्यप्रसाद लामिछाने, उपनिर्देशक अच्युतानन्द मिश्र, सहायक निर्देशक विजयकुमार राय यादव, उपनिर्देशक सुरेश बस्नेत, सहायक निर्देशक प्रतिक्षा पौडेल र सहायक निर्देशक निराजन कोइरालाविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाइएको छ।