Bagmati Samachar Logo

रास्वपाले इलाममा मिलन लिम्बुलाई दियो टिकट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

बिहीबार केन्द्रीय कार्यालय चःमतिमा उम्मेदवारका ६ जना आकांक्षीहरूसँग छलफल गरेर रास्वपाले लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

रास्वपा महामन्त्री डा. मुकुल ढकालले सर्वसहमतिमा लिम्बूलाई उम्मेदवार बनाउने निर्णय भएको बताएका छन् ।

वैशाख १५ गते इलाम २ मा उपनिर्वाचन हुँदैछ। त्यसका लागि यही चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ।

लिम्बू माओवादी निटक प्रेस सेन्टरका सचिव थिए । केहि समय पहिला उनले माओवादीसँगको आबद्धता त्याग्दै स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए । पछि रास्वपाले संवाद अघि बढाएको थियो।

लिम्बूसँग रास्वपा सभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्याल, महामन्त्री ढकाल लगायतले पटक–पटक छलफल गरेका थिए। लिम्बू रास्वपाबाट उम्मेदवार बन्न तयार भएपछि उनको नाम उम्मेदवारको प्रारम्भिक सूचीमा राखिएको थियो।

बुधबार लिम्बूसहित ६ जना आकांक्षीको सूची रास्वपाले सार्वजनिक गरेको थियो।